११ जेठ, गोरखा । जिल्लामा केही दिन यता बिद्युत सेवा नियमित छैन । झ्याप्प झ्याप्प लाइन जाने समस्याले जिल्लावासी आजित छन् । बिद्युत सेवा प्रवाहमा भएको अनियमितताले गोरखा अस्पतालको सेवा समेत प्रभावित बनेको छ । ‘पहिलो कुरा पानी तान्न पाइएको छैन,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘पानी प्यूरिफिकेशन र अक्सिजन प्लान्ट संचालनमा पनि समस्या भएको छ ।’ इमरजेन्सी र बिरामी भर्ना वार्डमा बिरामी उपचारमा समेत समस्या हुने गरेको उनले बताए ।
‘त्यहाँ ब्याकअफ पनि छैन, लाइन गएपछि चार्जिङ लाइट बालेर उपचार गर्नुपर्छ तर त्यसले धान्दैन,’ उनले भने । बिद्युत नहुँदा एक्स–रे मेसिन संचालनमा ल्याउन नसकिने उनले जानकारी दिए । बिद्युतकै कारण एक्स–रे सेवाका लागी लामो समय कुर्नपर्ने बाध्यता बिरामीलाई छ ।
अस्पतालको सेवा मात्र होइन बिद्युत सेवा नियमित नहुँदा खानेपानी वितरणमा पनि समस्या भएको छ । बिद्युतकै कारण पानी वितरण गर्न नसकिएको पृथ्वी नारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष सिता खड्का बताउछिन् । ‘बिद्युतले गर्दा पानी तान्न सकेका छैनौ, सोलार छ तर चल्दैन, अनि कसरी पानी वितरण गर्नु !’ उनले भनिन् ।
बिद्युतका कारण जिल्लाका व्यवसायीहरु पनि मर्कामा परेका छन् । लाइन आउने जाने समस्याले मोवाइल बनाउने भ्राइबेटर मेसिन बिग्रिएको नमस्ते मोवाइल मर्मत तथा बिक्री केन्द्रका सुमन कार्कीले बताए । ‘लाइन नभइ मेसिन चल्दैन, अनि मेसिन नचलेपछि काम हुदैन, व्यापार घाटामा गएको छ,’ उनले भने ।
हावाहुरीको मौसम भएकाले बढी समस्या भएको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । फिडर लाइनको संख्या कम हुदाँ पनि धेरै ‘फल्ट‘ आउने गरेको कार्यालय प्रमुख नेत्रमणी न्यौपानेको भनाइ छ । ‘हामीसँग तीन वटा फिडर मात्र छ,’ उनले भने, ‘फिडर संख्या कम भएकाले एउटै फिडरमा धेरै लामो लाइन जोड्नुपर्छ, अनि कतै समस्या आएमा सबैतिर लाइन काट्नुपर्ने हुन्छ ।’
खानेपानी वितरणका लागी जडान गरिएका बिद्युतिय लाइनमा आउने समस्याले पनि सेवा प्रभावित हुने गरेको उनले जानकारी दिए ।
समस्या समाधानका लागी सव स्टेशन निर्माण गर्ने र फिडर संख्या बढाउनुपर्ने उनको भनाइ छ । सव स्टेशन निर्माण सँगै फिडर थप्ने कामको तयारी पनि भइरहेको उनले बताए ।



































