२२ जेठ, गोरखा । जिल्ला समन्वय समिति गोरखाको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० गते चुनाव गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज आइतवार (जेठ २२ गते) मतदाता नामावली प्रकाशन हुने बताइएको छ । सोही तालिका अनुसार मतदाता नामावली सार्वजनिक भइसकेको छ । जेठ २३ गते सोमवार मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्ता दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।
जेठ २४ गते मतदाताको बिरोधमा उजुरी दिने, मतदाताको बिरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन हुने मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले बताए । उम्मेदवारको मनोयनपत्र दर्ता र मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने काम जेठ २५ गते हुने उनले जानकारी दिए ।
उनका अनुसार जेठ २६ गते उम्मेदवारको बिरोधमा उजुरी दिन पाइने छ । जेठ २७ गते मनोनयन पत्रको जाँच तथा उजुरी उपर निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन हुने बताइएको छ । कार्यतालिका अनुसार जेठ २८ गते उम्मेदवारहरुले नाम फिर्ता लिन सक्नेछन् ।
जेठ २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने बताइएको छ । जेठ ३० गते बिहान ११ बजेदेखि एक बजेसम्म मतदानको कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।
नौ सदस्यीय जिल्ला समन्वय समिति बन्ने
गोरखाको जिल्ला समन्वय समिति नौ सदस्यीय हुने भएको छ । आइतवार भएको छैठौ जिल्ला सभाले नौ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेको हो ।
स्थानीय निर्वाचन निर्देशिका अनुसार कम्तिमा ६ र बढीमा ९ सदस्यीय समिति बनाउन पाइने छ । चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा सभा भएको थियो ।
को को उम्मदेवार बन्न पाउछन् ?
स्थानीय चुनाव २०७९ बाट नगर सभा तथा गाउँसभामा निर्वाचित सबै सदस्यहरु जिल्ला समन्वय समितिको चुनावमा उम्मेदवार बन्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।
को को हुन् मतदाता ?
जिल्ला समन्वय समितिको चुनावमा पालिका प्रमुख र उपप्रमुखहरुले मात्र मतदान गर्न पाउने प्रावधान रहेको छ । जिल्लाका एघार स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कुल २२ जनाले मात्र चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।



































