२९ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङको चण्डीथोकमा भीमसेन थापा पार्क निर्माणको काम अघि बढेको छ । थापा परिवारले भीमसेन थापा स्मारक ट्रष्टको नाममा निशुल्क उपलब्ध गराएको एक रोपनी ६ आना जग्गामा पार्क निर्माण शुरु गरिएको हो ।
हालसम्म प्रवेशद्धार निर्माण र थापाको शालिक राख्ने काम सम्पन्न भइसकेको छ । कोटकालीसम्मको एक किलोमिटर पदमार्गमा सिढी लगाउने काम पनि सम्पन्न भइसकेको निवर्तमान वडाध्यक्ष एवं स्थानीय बासु थापाले बताए । उनका अनुसार पार्क निर्माणका लागी चालु आर्थिक बर्ष वडा कार्यालयले १५ लाख रकम विनियोजन गरेको छ ।
‘म आफै वडाध्यक्ष हुदाँ पार्क निर्माण गर्न भनेर रकम छुट्याएको थिए,’ उनले भने, ‘त्यही रकमबाट अहिले काम भइरहेको हो ।’ डिपिआरको योजना अनुसार पार्क निर्माणका लागी करिव दुई करोड रकम आवश्यक पर्ने उनले जानकारी दिए । गाउँपालिका, प्रदेश र संघसँग रकम मागेर पार्क निर्माणको कामलाई अघि बढाउने योजना रहेको उनले बताए ।
‘पार्क निर्माणका लागी करिव सात रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ, थापा परिवारको नाममा रहेको जग्गालाई अधिग्रहण गर्न सकियो भने खासै समस्या हुदैन,’ उनले भने । भीमसेन थापाको जन्मस्थल र उनी जन्मिएको हवेली लगायतका ऐतिहासिक संरचनाहरुको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ ।
पार्क क्षेत्रमा निर्माण भएको थापाको शालिक साउन ९ गते थापाको जन्मदिनको अवसर पारेर अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।



































