४ असार, गोरखा । बुढीगण्डकी नदीले कटान गरेको गोरखाको उत्तरी क्षेत्रमा तटवन्धन लगाउने काम भएको छ । गत असारमा बुढीगण्डकीले कटान गरेको माछाखोला, जगत, सल्लेरी, घट्टेकुलो लगायतका क्षेत्रमा तटवन्धन गरिएको जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको नदी नियन्त्रण कार्यक्रम अन्तरगत तटवन्धनको काम भएको कार्यालय प्रमुख प्रकाश लम्सालले बताए । ‘गत बर्षको बर्खामा बुढीगण्डकीले कतै घर बगाएको थियो, कतै कटान गरेर बस्ती नै जोखिममा पारेको थियो,’ उनले भने, ‘ती क्षेत्रमा तटवन्धन गरेका हौ ।’ ग्याविन जाली सहित तटवन्धन गरिएको उनले जानकारी दिए ।
कार्यालयका इन्जिनियर बिष्णुहरी अधिकारीका अनुसार सल्लेरी र जगतमा दुई÷दुई वटा स्पट निर्माण गरिएको छ । माछाखोला, जगत, फिलिम, खोर्लावेशी र घट्टेकुलोमा टोवाल निर्माण समेत भएको उनले बताए । ‘माछाखोलामा एक सय मिटर, जगतमा ३० मिटर, खोर्लावेशीमा एक सय १५ मिटर, घट्टेकुलोमा एक सय ५० मिटर र फिलिममा ५० मिटर टोवाल लगाएका छौ,’ उनले भने । घट्टेखोलामा भने मर्मत गरिएको उनले जानकारी दिए ।
नदी नियन्त्रण कार्यक्रमका लागी भन्दै आर्थिक बर्ष २०७६÷७७ मा दुइ करोड १२ लाख लागतमा ठेक्का लागेको थियो । सोही आयोजना अन्तरगत सो क्षेत्रमा पनि तटवन्धन लगाउने काम गरिएको कार्यालयले जनाएको छ ।
ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सन कम्पनीले काम सम्पन्न गरिसकेको कार्यालयले जनाएको छ ।



































