५ साउन, गोरखा । शहिद लखन गाउँपालिका–७ का नवनिर्वाचित जनप्रतिनिधी र स्थानीय सभा सदस्यलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम संचालन गरिएको छ । वडा कार्यालयको आयोजना तथा सोच नेपाल नामक संस्थाको सहजिकरणमा एवं व्यवस्थापनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा पालिकाको योजना तर्जुमाका प्रक्रिया, बजेट निर्माणका बिधी, योजना कार्यान्वयन तथा फरफारकका सरल तरिका, भुक्तानी प्रक्रिया लगायतका बारेमा अभिमुखिकरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।
कार्यक्रममा उद्घोषणका तरिका, पूर्व तयारी, कार्यक्रम तथा बैठक संचालन एवं सहजिकरण विधी, सामाजिक सञ्जालको सदुपयोगका तरिका, असल नेतृत्वका बिशेषता, काम कर्तव्य र जिम्मेवारी लगायतका बारेमा पनि जानकारी गराइएको उनले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गैरसरकारी संस्था महासंघ गोरखाका उपाध्यक्ष हरि देवकोटा, सोच नेपालका प्रतिनिधी मोहसिन अलि मिया लगायतले सहजिकरण गरेका थिए ।



































