६ असार, गोरखा । कोभिड–१९ का कारण रोजगार गुमाएका गोरखाका पर्यटन व्यवसायमा आवद्ध श्रमिक तथा मजदुरलाई राहत रकम वितरण गरिएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत रकम वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय गोरखाले जनाएको छ ।
कार्यक्रम अन्तरगत हालसम्म ५४ जनाले रकम पाइसकेका छन् । उनीहरुलाई जनही दश हजारका दरले रकम वितरण भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । ‘कुल ७५ जनाको निवदेन परेको थियो,’ उनले भने, ‘२१ जनाको आवश्यक कागजात नपुगेर थप विवरण संकलनको काम भइरहेको छ ।’
जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा गठित राहत वितरण सिफारिस समितिले सिफारिस गरेका व्यक्तिहरुलाई राहत उपलब्ध गराइएको उनले जानकारी दिए । ‘समितिले सिफारिस गरेर कार्यालयमा पठायो, हामीले गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठायौ, त्यही आधारमा मन्त्रालयले रकम वितरण ग¥यो,’ उनले भने ।
स्वीकृत बार्षिक बिकास कार्यक्रम अन्तरगत चालु आव कार्यालयले बिभिन्न पालिकामा सिपमूलक तालिम पनि संचालन गरेको छ । गण्डकी र भीमसेन थापा गाउँपालिकामा डल कुसन बनाउने १५ दिने तालिम र आरुघाट गाउँपालिकामा ३ सय ९० घण्टाको सहायक सूचिकार र सहायक व्यूटिसियन सम्बन्धी तालिम संचालन गरिएको कार्यालय प्रमुख भुजेलले बताए ।
त्यस्तै सिरानचोक र भीमसेन थापा गाउँपालिकामा मिनि टिलर बनाउने १५ दिने तालिम समेत संचालन गरिएको उनको भनाइ छ । उक्त तालिमबाट कुल १ सय १० जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।



































