१९ असार, गोरखा । जिल्लाका संचारकर्मी र स्वास्थ्य कार्यालय बिच सर्ने तथा नसर्ने रोग सम्बन्धि अन्तरक्रिया तथा छलफल भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा आइतवार जिल्ला सदरमुकाममा भएको कार्यक्रममा डेंगु, स्क्रबटाइपस, कालाजार, क्यान्सर लगायतका रोगको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहजिकरण गर्दै कार्यालयका सूचना अधिकारी नवराज खड्काले हालसम्म जिल्लामा २६ जनामा डेंगु रोग देखा परिसकेको बताए । गत बर्ष २४ जना र यो बर्ष दुई जनामा डेंगु रोग देखा परेको उनले जानकारी दिए । पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने बताइएको छ ।
त्यस्तै किर्नाको टोकाइबाट लाग्ने स्क्रबटाइपस रोगको संक्रमण पनि जिल्लामा देखा परेको खड्काले जानकारी दिए । गत बर्ष आरुघाटका १९ जना र यो बर्ष शहिद लखन गाउँपालिकाका २ जनामा यो रोग देखा परेको उनले बताए ।
भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोगको संक्रमण पनि जिल्लामा फेला परेको बताइएको छ । एक जना महिलामा उक्त रोगको संक्रमण फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको उक्त कार्यक्रममा कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए ।



































