२१ असार, गोरखा । गण्डकी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागीतामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ मंगलवार एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
पालिकाभित्र रहेका दुई बर्ष मुनिका सबै बालबालिकाहरुलाई नियमित खोप उपलब्ध गराएसँगै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । त्यस्तै पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार पालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाका लागी प्रतिवद्धता समेत गराइएको कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।
पालिकाको आठ वटै वडा पूर्ण खोपयुक्त घोषणा भएसँगै पालिकालाई घोषणा गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले सम्बन्धित वडाका अध्यक्षलाई पूर्ण खोपयुक्त वडा घोषणा भएको प्रमाणपत्र वितरण गरेका थिए ।
जिल्ला समन्वय समिति उपप्रमुख एवं जिल्ला खोप समन्वय समिति उपसंयोजक लिला परियारले गाउँपालिका अध्यक्ष तिमिल्सिनालाई गाउँपालिका पूर्ण खोप युक्त घोषणा भएको प्रमाणपत्र उपलब्ध गराएकी थिइन् ।
गाउँपालिका अध्यक्ष तिमिल्सिनाको अध्यक्षता तथा जिसस उपप्रमुख परियारको प्रमुख अतिथ्यतामा भएको पूर्ण खोप गाउँपालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रममा दुर्वङ स्वास्थ्यचौकी इन्चार्ज कुमार पुकार, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष सिताराम श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ठकुरी, वडा नम्वर ६ का अध्यक्ष तुल बहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य शिव रेग्मी, जिसस उपप्रमुख परियार लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले खोप सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन् ।



































