२५ असार, गोरखा । जिल्लाका उद्यमी तथा व्यवसायीलाई मेसिनरी उपकरण वितरण गरिएको छ । दलित, विपन्न तथा परम्परागत सिप भएकाहरुको व्यवसायिक बिकासका लागी उपकरण तथा प्राविधि हस्तान्तरण कार्यक्रम अन्तरगत उपकरण वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
शनिवार एक कार्यक्रमका बिच जिल्लाका ३५ वटा उद्योग तथा फर्मलाई मेसिनरी औजार एवं उपकरण वितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । ८० प्रतिशत अनुदानमा उनीहरुलाई उपकरण वितरण गरिएको उनले जानकारी दिए । ‘हामीले आवेदन माग गर्दा ३५ वटा निवेदन प¥यो,’ उनले भने, ‘आवश्यकता र उपलब्धतालाई हेरेर सबैलाई कार्यक्रममा समेट्यौ ।’
३५ फर्म तथा उद्योगका लागी ५६ वटा उपकरण वितरण गरिएको छ । १६ थान डिजिटल सिलाई मेसिन, ४ थान डिफ्रिज, दुई थान कम्वाइन मिल र दुई थान रुख काट्ने चप कटर वितरण गरिएको कार्यालयले जनाएको छ । त्यस्तै बिग फ्रिज, चेन सो, सिजर, मिनिटिलर, दुई हजार लिटर क्षमताको प्लाष्टिक ड्रम, अटोमेटिक वाटर फिल्टर, पेट्रोल वयल्डिङ मेसिन, कलर प्रिन्टर, व्याट्री, इन्भटर लगायतका उपकरण १÷१ थान पनि वितरण गरिएको बताइएको छ ।
कार्यालय प्रमुख भुजेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मनकामना सूति कपडा उद्योगका तुलसी प्रसाद देवकोटा, गोरखा उद्योग वाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, लगायतले मन्तव्य राखेका थिए ।



































