२७ असार, गोरखा । वेनिघाट आरुघाट लार्केभञ्ज्याङ्ग सडक अन्तरतगको १८ किलोमिटर खण्ड सडक बिभागलाई हस्तान्तरण गरिएको छ । उत्तरी गोरखा हुदै चीनसम्म सडकको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले हावाडाँडा देखि दोभानसम्मको खण्ड बिभागलाई बुझाएको हो ।
सो खण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको निर्माण कार्यदलका प्रमुख मेजर बिनोद भट्टले बताए । सोमवार एक कार्यक्रमका बिच मेजर भट्टले सडक बिभाग अन्तरगत ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई औपचारिक रुपमा उक्त सडकखण्ड हस्तान्तरण गरे । अबका दिनमा सो सडकखण्डको स्तरोन्नती लगायतका अन्य काम गर्ने जिम्मेवारी सडक बिभागको हुने छ ।
हावाडाँडा देखि लार्के भञ्ज्याङ्गसम्मको ९२ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको हो । २०७३ मंसिर २६ गतेको मन्त्रीपरिषद बैठकबाट निर्णय भएपश्चात नेपाली सेनाले २०७४ बैशाख महिनाबाट काम शुरु गरेको हो ।
हालसम्म ३२ किलोमिटर ट्रयाक खुलिसकेको निर्माण कार्यदल प्रमुख मेजर भट्टले जानकारी दिए । ‘फिलिमको पाङसिङसम्म ट्रयाक खुलाइसकेका छौ, तर ठाउँठाउँमा मिलाउन बाँकी छ,’ उनले भने, ‘सडक बिभागलाई हस्तान्तरण गरेको खण्डमा भने सबै काम सकिसक्यौ ।’
२०५२ सालमा बेनिघाट आरुघाट आर्खेत खण्डमा सडक निर्माणको काम सुरुवात भएको थियो ।
आर्थिक बर्ष २०६३÷६४ मा वेनिघाट आरुघाट लार्केभञ्ज्याङ्ग सडक नामाकरण गरी सडक बिभागलाई उक्त सडक निर्माणको कार्यभार दिइयो । आव २०६६÷६७ मा मात्र उक्त सडक निर्माणको कार्य शुरु भयो । तर हावाडाँडादेखि करिव १ किलोमिटर क्षेत्र कडा चटानयुक्त भिर परेकाले पाँच बर्षसम्म ट्रयाक खोल्ने कार्य अगाडी बढ्न सकेन ।
अन्ततः २०७३ साल मंसिर २६ गते मन्त्रीपरिषदको बैठकले सो क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय ग¥यो र काम अघि बढाइयो ।
उक्त सडक लापुवेशी, माछाखोला, जगत, सिर्दिवास बिही, प्रोक, सामागाउँ, साम्दो हुदै चाइना र नेपालको सिमा लार्के भञ्ज्याङ्ग पुग्ने छ ।



































