१६ साउन, गोरखा । सडक सञ्जाल नै नजोडिएको गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेवर जोड्ने दरौदी नदीमाथि पाँच करोडभन्दा बढी रकम खर्चेर मोटरेवल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत बिनियोजित रकमबाट सो पुल निर्माणकाको काम अघि बढेको हो ।
गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफू मन्त्री हुदाँ सो पुलको योजना पारेर रकम विनियोजन गरेका हुन् । तर सडक बिना पुल निर्माणको काम अघि बढाएको भन्दै स्थानीय उनी प्रति रुष्ट छन् । आवश्यक छलफल र समन्वय पनि नगरेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।
‘पुल बनिरहेको ठाउँमा मेरो खेत पर्छ, त्यही खेत हुदै सडक लानुपर्छ,’ स्थानीय कृष्ण बहादुर कुमालले भने, ‘पुल बनाउने बेला हामीसँग एकपटक पनि छलफल गरेनन्, अब बाटो चाहि कसरी लाने रहेछ हेरौला ।’ खेतबाट सडक लानका लागी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
सडक नै नभएको ठाउँमा निर्माण भएको पुलमा मोटर कसरी आउँछ भन्नेमा स्थानीय आफै अन्यौलमा छन् । स्थानीय गणेश कुमार नगरकोटी भन्छन्, ‘पुल वारी सबै खेत हो, पारी पातलभिरको जंगल छ, दुवैतर्फ सडक छैन, अनि त्यस्तो ठाउँमा बनाएको पुलमा मोटर चाहि कसरी आउँछ ?’ उनका अनुसार पुलसम्म सडक जोड्नका लागी जरेवर तर्फ एक किलोमिटर भन्दा बढी र नारेश्वर तर्फ करि दुई सय मिटर नयाँ सडक खन्नुपर्छ ।
जरेवर तर्फ खेतियोग्य जमिन मासेर सडक सञ्जाल जोड्न स्थानीयकै अवरोध देखिन्छ । ‘धान उब्जाएर परिवार पाल्ने खेत यही हो, यही खेतपनि मासेर सडक बनाएपछि हामी कसरी बाच्ने, कि खेतको पैसा दिनुप¥यो,’ नगरकोटीले भने ।
स्थानीयसँग आवश्यक छलफल नगरी एकलौटी ढंगले पुल निर्माणको काम अघि बढाएपनि पुलसम्म सडक जोड्न भने मुश्किल देखिएको छ । पुल वारी मन्त्री बस्नेतको खेत रहेको र पारी उनको गाउँ भएकाले पनि हतारमा उनले उक्त योजनामा बजेट विनियोजन गरेको भन्दै उनको आलोचना समेत हुन थालेको छ ।
सडक नै नभएको सो ठाउँमा पाँच करोड ३९ लाख खर्चेर पुल निर्माणको काम भइरहेको छ । हालसम्म करिव ९३ प्रतिशत काम सम्पन्न भएको पूवार्धार बिकास कार्यालय गोरखाका प्रमुख ओमराम ढुंगानाले बताए । पुल निर्माणको जिम्मा एचटिसी/गणेशकुण्ड/आइएस निर्माण सेवा जेभीले पाएको हो ।
२०७७ साल जेठ १३ गते सम्झौता भएर काम शुरु भएको कार्यालयले जनाएको छ । २०७९ जेठ १२ गते सक्नुपर्ने उक्त काम करिव अन्तिम चरणमा पुगेको बताइएको छ ।
तर सडक नजोडिएकै कारण पुल संचालनमा भने समस्या देखिने भएको छ ।



































