३१ साउन, गोरखा । दशैलाई लक्षित गरी गोरखा नगरपालिका–१० छेवेटारमा ‘दशै मेला २०७९’ हुने भएको छ । गोरखा तामाङ समाजको आयोजनामा असोज ३ देखि १६ गतेसम्म मेला हुन लागेको हो ।
सोमवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै समाजले मेलाको तयारी भइरहेको जनाएको छ । ‘छेवेटारको बरबरेचौर स्थित खेलकुद मैदानमा मेला गर्न लागेका हौ,’ समाजका अध्यक्ष बुद्धदोङ तामाङले भने, ‘कृषिजन्य उत्पादनको प्रदर्शनीलाई बिशेष जोड दिएका छौ ।’
हिन्दुहरुको महान चाड दशैका लागी आवश्यक पर्ने खसी, बोका, राँगा सँगै लत्ताकपडाहरु पनि मेलामा राखिने उनले बताए । उनका अनुसार मेलामा तामाङ समुदायले बुनेको डोको, थुन्से, नाम्लो, भकारी लगायतका सामाग्रीहरु पनि किनबेचका लागी राखिने छ । मेलामा एक सय भन्दा बढी स्टल रहने बताइएको छ । मेलामा बाल उद्यान समेत रहने छ ।
करिव १३ दिन चल्ने मेलामा ख्याति प्राप्त राष्ट्रिय एवं स्थानीय कलाकारको हास्यव्यंग्यका साथै सांगितिक प्रस्तुत समेत रहने आयोजकले जनाएको छ ।
मेलाबाट भएको आम्दानीको केही प्रतिशत गरिव, असहाय तथा विपन्न वर्गलाई सहयोग गरिने बताइएको छ । मेला सम्पन्न गर्न करिव ४५ लाख लाग्ने अनुमान आयोजकको छ ।



































