५ भदौ, गोरखा । गोरखा अस्पतालमा हेमोडायलासिस सेवा शुरु हुने भएको छ । मृगौला फेल भएका बिरामीहरुलाई लक्षित गरी भदौ ७ गतेबाट सेवा शुरु गर्न लागिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
डायलासिस गराइरहेका बिरामीहरुले आज सोमवार देखि नै नाम दर्ता गराउन सक्ने उनले जानकारी दिए । उनीहरुले अस्पतालको प्रशासन शाखामा नाम दर्ता गराउन सक्नेछन् । डायलासिसका लागी आवश्यक उपकरण यसअघि नै अस्पताललाई प्राप्त भइसकेको थियो । तर भवन र जनशक्ति अभावमा सेवा शुरु हुन नसकेको ढकालले बताए ।
‘दुई बर्ष अघि नै हामीलाई आवश्यक उपकरणहरु प्राप्त भइसकेको थियो,’ उनले भने, ‘तर भवन पनि पर्याप्त नभएको र जनशक्ति नभएकाले सेवा शुरु गर्न सकेका थिएनौ ।’
अस्पतालको नयाँ भवन निर्माण भएको र तालिम प्राप्त जनशक्ति समेत भएकाले सेवा शुरु गर्न लागिएको उनले जानकारी दिए ।
अवबाट मृगौलाका बिरामीले अस्पतालबाट दैनिक डायलासिस सेवा निशुल्क लिन सक्ने बताइएको छ ।



































