७ भदौ, गोरखा । मिटरव्याजको नाममा ठगी गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । मंगलवार एक सूचना जारी गर्दै प्रशासनले मिटरव्याज पीडितलाई उजुरी दिन आग्रह गरेको छ ।
मिटरब्याजीहरुले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित उजुरी दर्ता गराउन कार्यालयले पीडितहरुलाई आग्रह गरेको हो ।
प्रचलित दरभन्दा बढी व्याज तिर्ने कवोल गरी गरिव तथा निरक्षर व्यक्तिलाई ऋण दिने, कागजमा कानूनी रुपले स्वीकार्य दर राख्ने तर व्यवहारमा उच्च दरको व्याज लिने र कागज नच्याती रकम असुल गर्ने वा तमसुकमा उल्लेखित अंकमा पछि आफै अंक थप गरी ऋणीले लिएको वास्तविक ऋणभन्दा कयौ गुणा बढी रकम दावी गर्दै ऋणीलाई फसाउने गरेको सूचना प्राप्त भएकाले उजुरी दिन आग्रह गरिएको प्रमुृख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
जग्गा दृष्टिवन्धक राख्ने, छिनुवा पास लिने, खाली चेकमा सही गराइराख्ने र चेक वाउन्स लगायतका मुद्धामा फसाउने धम्की दिएर गैरकानूनी रुपले ऋणको धेरै गणा रकम असुल गर्ने गरेको समेत हुनसक्ने उनले जानकारी दिए ।
जिल्लामा पनि त्यस्ता पीडित भए उजुरी दिन प्रशासनले आग्रह गरेको हो ।



































