घटना नम्वर १ ः २०७८ साल असार २५ गते राती बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्था चोरी भयो । भीमसेन थापा गाउँपालिका–७ मा पर्ने उक्त संस्थाबाट नगद ३० लाख सहित एउटा कम्प्युटर चोरी भएपछि प्रहरीमा जायरी समेत प¥यो । तर एक बर्ष वितिसक्दा पनि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । चोरी गर्दै गरेका केही सिसिटिभी फुटेज समेत प्रहरीसँग छ । तर पनि चोरी गर्नेको पहिचानमा प्रहरी चुक्दै आएको छ ।
घटना नम्वर २ ः गत जेठ २२ गते पालुङटार नगरपालिका–७ च्याङलीको सतिघाटमा एक पुरुषको शव फेला प¥यो । तर हत्या हो वा मृत्यु भन्ने कुराको पहिचान गर्न प्रहरी असफल नै छ ।
घटना नम्वर ३ ः गत असार ३० गते गोरखा नगरपालिका–८ आलेगाउँका अनिष आले मगरको हत्या भयो । सदरमुकामको खोलखोले स्थित नगरपालिका जाने सडकको नालामा उनको शव भेटिएको थियो । हत्या आरोपमा केही व्यक्तिहरु पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको प्रहरी बताउछ ।
घटना नम्वर ४ ः गत साउन २८ गते राती पालुङटार नगरपालिका–५ धरमपानीमा कुटपिटबाट ३५ बर्षिय बुद्धि बिकको ज्यान गयो । हत्याको आरोपमा तीन जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
घटना नम्वर ५ ः गत असारमा मादक पदार्थ सेवन गरेका दुई शिक्षकहरुले प्रहरीलाई नै कुटपिट गरे । मोटरसाइकलबाट लडेका उनीहरुलाई सहयोग गर्न पुगेको प्रहरीलाई उनीहरुले कुटपिट गरेका हुन् । उनीहरु पक्राउ त परे तर प्रहरीमाथि नै हातपात हुनुले सुरक्षा चुनौती थपिएको प्रष्ट पार्छ ।
अपराधिक क्रियाकलाप बढ्दो, छैन सुरक्षा प्रत्याभूती
केही समय यता जिल्लामा यी लगायत धेरै घटना भएका छन् । झै–झगडा र कुटपिट दिनहूँ जस्तै हुन्छ । चोरीका घटना पनि उत्तिकै बढेका छन् । पछिल्लो समय जिल्लामा अपराधिक गतिविधी बढ्न थालेको छ । नगर क्षेत्रमै भएका श्रृंखलावद्ध घटनाले सुरक्षा चुनौती थपिएको छ । जिल्लावासीलाई सुरक्षाको प्रत्याभूती दिलाउन प्रहरी असफल देखिन्छ । साँझपरेपछि घर बाहिर निस्कन डराउनुपर्ने अवस्था आएको स्थानीयहरु बताउछन् ।
अपराधिक क्रियाकलाप बढ्नुमा मदिरा र लागू औषध प्रमुख कारक
जिल्लामा भएका अधिकांश घटना मदिरा र लागू औषधसँग जोडिएको छ । यो कुरा प्रहरी स्वयम स्वीकार गर्छ । लागू औषध प्रयोगकै कारण अपराधिक क्रियाकलाप बढेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनाल बताउछन् । ‘जिल्लामा भएका अधिकांश हत्याका घटना मादक पदार्थ वा लागू औषध सेवनकै कारण भएको देखिन्छ,’ उनले भने, ‘अहिले हामीले निगरानी बढाएका छौ ।’ अहिले दैनिक ५–७ जना लागू औषध र मादक पदार्थ सेवन गर्नेहरु पक्राउ पर्ने गरेको उनले जानकारी दिए ।
पक्राउ पर्नेको संख्या बढेपनि लागू औषध प्रयोग गर्ने स्थानहरुमा प्रहरीको निगरानी पुग्न सकेको छैन । साँझ परेपछि युवाको जमात जमघट हुने स्थलहरुको पहिचान गरेर निगरानी बढाउन स्थानीयले प्रहरीलाई सुझाव समेत दिएका छन् । ‘चिल्ड्रेन पार्क, खोलखोले देखि नगरपालिका जाने सडकखण्ड, आवुखैरेनी गोरखा सडकखण्डको अवुवा देखि तीन किलोसम्मको क्षेत्र लगायतका अन्य ठाउँमा साँझ परेपछि युवाहरु जम्मा हुने र लागू औषध सेवन गर्ने गरेको पाइन्छ,’ नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘ती क्षेत्रहरुमा प्रहरीले निगरानी बढाउनु प¥यो ।’ पुल हाउसहरुमा पनि निगरानी बढाउनुपर्ने उनको सुझाव छ ।
जुवा नियन्त्रणमा पनि असफल
जुवा नियन्त्रणमा पनि प्रहरी असफल देखिन्छ । सदरमुकाम आसपासकै बिभिन्न ठाउँमा जुवाको ठुलै खाल हुने गरेपनि पक्राउ परेका घटना सार्वजनिक भएका छैनन् । विगतका समयमा सदरमुकाम आसपासबाटै जुवाडेहरु पक्राउ परेको घटना धेरै छन् । जुवा नियन्त्रणमा प्रहरीको नजर नपुगेकै हो ।
एसपी खनाल भन्छन् : हामी सक्दो प्रयास गरिरहेका छौ
जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न गोरखा प्रहरीले सक्दो प्रयास गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनाल बताउछन् । भीमकुल सहकारी चोरी घटनाको सन्दर्भमा उनले अनुसन्धान भइरहेको बताए । ‘प्राप्त प्रमाण र डकुमेन्ट हामीले केन्द्रिय अनुसन्धान व्यूरोलाई पठाएका छौ, र यस घटनामा थप अनुसन्धानका लागी उहाँहरुसँग सहयोग पनि मागेका छौ ।’ केही व्यक्तिहरु शंकाको घेरामा रहेको बताउदै उनले अनुसन्धान जारी रहेको बताए ।
मदिरा र लागू औषध नियन्त्रणका लागी पनि बिभिन्न कदम चाल्दै आएको उनले जानकारी दिए । ‘हामीले डाक्टरको प्रेस्किप्सन बिना औषध नबेच्न मेडिकलहरुलाई सचेत पनि गराइसकेका छौ, लागू औषधका लागी युवाहरु जमघट हुने क्षेत्रलाई पहिचान गरी निगरानी बढाएका छौ,’ उनले भने । गाँजाका बोटहरु नष्ट गर्ने र आमा समूहलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको उनको भनाइ छ ।



































