२४ भदौ, गोरखा । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल जिल्लामा शुरु भइसकेको छ । निर्वाचन लक्षित कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रममा दलहरु व्यस्त छन् । आकांक्षी उमेदवारहरुको नाम दलहरुले सिफारिस गरेर पठाइसके ।
सिफारिसमा परेकाहरुको नामावली र सम्भावित परिदृष्य हेर्दा गोरखा क्षेत्र नम्वर २ मा संघ तर्पmको चुनाव थप रोचक हुने देखिन्छ । सत्ता गठवन्धनमा रहेका दलहरुले आसन्न चुनावमा पनि गठवन्धन गरेरै जाने निर्णय गरिसकेका छन् । तर भागवण्डा भने पेचिलो बन्ने देखिन्छ ।
गठवन्धनमा रहेको नेपाली कांग्रेसबाट क्षेत्र नम्वर २ मा सुरेन्द्रराज पाण्डेको मात्र नाम सिफारिस भएको छ । कांग्रेस क्षेत्रिय समितिका अनुसार उमेदवारका आकांक्षीलाई आवेदनका लागी सूचना जारी गर्दा पाण्डेको मात्र आवेदन परेको थियो ।
केही दिनअघि पत्रकार सम्मेलनमा पाण्डेले गोरखामा यसपटकको चुनावमा माओवादी र कांग्रेस बिच बराबरी सिट बाँडफाँट हुने र गोरखा–२ कांग्रेसको भागमा पर्ने बताएका थिए ।
गठवन्धनकै अर्काे दल माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठ सहित हितराज पाण्डे, चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस गरेको छ । उमेदवारका लागी सिफारिस भएका श्रेष्ठ हाल राष्ट्रिय सभा सदस्य समेत हुन् ।
यता नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखा २ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
यसपटकको चुनावमा पनि गठवन्धन कायम रहेमा गोरखा २ मा संघको प्रत्यक्ष तर्फको टिकट कुनै एक दलका उमेदवारले मात्र पाउछन् । तर अहिलेसम्म कसले टिकट पाउछ यसै भन्न सक्ने अवस्था छैन ।
टिकटका लागी सबै कसरत गरिरहेका छन् । डा. भट्टराईले गोरखा २ स्वतः आफ्नो भागमा पर्ने बताएका छन् । अन्य आकांक्षी उमेदवारको पनि आ–आफ्नै दावी छ । जसले टिकट पाएपनि अन्य आकांक्षीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती गठवन्धन दललाई छ ।
त्यस्तै गोरखा क्षेत्र नम्वर २ मा एमालेले मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल रहेका छन् ।
विवादित पुष्ठभूमिका गुरुङको आकांक्षाले पनि गोरखा क्षेत्र नम्वर २ ले थप चर्चा बटुलेको छ । जिल्लाका अन्य दलहरुले पनि जिल्लाका उमेदवारहरुको नाम सिफारिस गरेर पठाइसकेका छन् ।



































