२४ भदौ, गोरखा । ठेक्का लिएर आयोजना अलपत्र पार्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने भएको छ । काममा लापरवाही गर्ने, प्रभावकारी रुपमा काम नगर्ने र आयोजना स्थलमा नखटिने निर्माण व्यवसायीलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ ।
शुक्रवार प्रशासन कार्यालयमा बसेको बिकास आयोजना कार्यान्वयन समन्वय बैठकले त्यस्ता निर्माण व्यवसायीको विवरण सम्बन्धित कार्यालयले तालुक निकाय र जिल्ला प्रशासन कार्यालयलाई बुझाउने र तत्काल कानूनी कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।
मनसुनको समयमा बिग्रे भत्केका सडक, नहर, खानेपानी, बिद्युत लगायतका भौतिक पूर्वाधारहरुको तत्काल मर्मत संहार गरी सुचारु हुने व्यवस्था मिलाउन समेत सम्बन्धित निकायलाई आग्रह गरिएको छ । आफ्नो क्षेत्रको बिग्रिएको बाटोघाटो सुचारु हुने व्यवस्था मिलाउनसवै स्थानीय तहलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।
चालु आर्थिक बर्ष २०७९÷८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयनमा लैजानका लागी नियमानुसार टेण्डर प्रक्रिया तत्काल शुरु गर्न पनि भनिएको छ ।



































