२५ भदौ, गोरखा । पालुङटारको ऐतिहासिक स्थल लिगलिगकोट देखि सिरानचोक हुदैँ गोरखा दरवारसम्मको खुल्ला म्याराथन दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका तिर्थ बहादुर तामाङले जितेका छन् ।
४० किलोमिटरको निर्धारित दुरी ३ घण्टा ११ मिनेट १ सेकेण्डमा पार गर्दै उनी उपाधी बिजेता बनेका हुन् । भवानी दल गणमा कार्यरत उनले एक लाख ५० हजार नगद पुरस्कार पाएका छन् ।
भारतीय सेनाका अनिष थापा मगर प्रतियोगीताको उपबिजेता बने । निर्धारित दुरी ३ घण्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनी उपबिजेता बनेका हुन् । उनले एक लाख नगद पुरस्कार पाएका छन् । प्रतियोगीतामा नेपाली सेनाकै मोहनदेव जोशीले तेस्रो स्थान हासिल गरे । उनले ३ घण्टा १५ मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । पुरस्कार स्वरुप उनले नगद ७५ हजार पाएका छन् ।
नेपाली सेनामै कार्यरत देवराज महत्तराले चौथौ र गोविन्द कार्कीले पाँचौ स्थान हासिल गर्न सफल भए । महत्तराले ५० र कार्कीले ३५ हजार नगद पुरस्कार पाए । सोलुखुम्वुका अर्जुन राई कुर्लुङले छैठौ स्थान हासिल गरेका छन् । उनलाई ३० हजार नगद पुरस्कार दिइएको छ ।

प्रतियोगीतामा नेपाली सेनाका थम बहादुर अधिकारी, सिरानचोकका अशोक बराम, भूपू सैनिक रैवत बहादुर दाहाल र नेपाली सेनाका बिमल खड्काले क्रमश सातौ, आठौ, नवौ र दशौ स्थान हालिस गरेका छन् । उनीहरुले क्रमश २५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।
प्रतियोगीताका बिजेताहरुलाई नेपाली सेनाको मध्य कमाण्ड हेडक्वाटर कमाण्ड सेनापती उपरथी बाबुराम श्रेष्ठले पुरस्कार वितरण गरेका हुन् ।
लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोकको चित्रेपोखरी हुदै गोरखा दरवार आएर टुङ्गिएको थियो । नेपाली सेनाको रिपुमर्दन गण, सिरानचोक गाउँपालिका एवं गोरखा र पालुङटार नगरपालिकाले संयुक्त रुपमा प्रतियोगीता गरेका हुन् । २०७६ सालबाट जिल्लामा उक्त दौड प्रतियोगीता शुरु भएको थियो ।

बर्षेनी प्रतियोगीता गर्ने भनिएपनि कोभिडका कारण दुई बर्ष रोकिएको प्रतियोगीताले यसबर्ष बाट पुनः निरन्तरता पाएको हो । आगामी बर्षबाट प्रतियोगीतालाई निरन्तरता दिदै लैजाने मूल आयोजक समारोह समितिले जनाएको छ ।



































