१ असोज, गोरखा । डेंगु रोग नियन्त्रणका लागी आरुघाट गाउँपालिकाले बिशेष अभियान संचालन गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शनिवार बिहान बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।
बजार क्षेत्रमा रहेका अव्यवस्थित फोहोर र जथाभावी राखिएको पानी जम्ने टायरहरुलाई हटाइएको आरुघाट स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए । स्वास्थ्य संस्था परिसर र लामखुट्टेको बासस्थान हुने स्थानमा किटनाशक औषधी क्लोरिनको झोल हालिएको उनले जानकारी दिए ।
घरभित्र र बाहिर लामखुट्टेको बासस्थान र फुल पार्ने ठाउँ खोजौ र नष्ट गरौ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियान अन्तरगत बजार क्षेत्रका प्रत्येक घरधुरीलाई सरसफाइका लागी आग्रह गर्दै डेंगु रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक पर्चा तथा पम्प्लेट समेत वितरण गरिएको छ ।

सरसफाई अभियानमा जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, उद्योग वाणिज्य संघ, आमा समूह, नागरिक अगुवा लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
आरुघाट बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागी डम्पिङ साइडको सम्भावित अध्ययन समेत भइरहेको बताइएको छ ।



































