२ असोज, गोरखा । गोरखा नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको क्लिन गोरखा प्रा.लि. ले भोली (सोमवार) बाट फोहोर नउठाउने भएको छ । आइतवार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रालिले डम्पिङ साइड जाने सडक बिग्रिएकाले फोहोर उठाउन नसकिने बताएको हो ।
‘कच्चि त्यसमाथि भिरालो सडक, पानीले पुरै बिगारेको छ, ट्याक्टर र टिपर फसेर जानै सक्दैन,’ प्रालिका संचालकमध्येका दिपेन्द्र श्रेष्ठले भने, ‘डम्पिङ गर्ने ठाउँमै गाडी नगएपछि फोहोर उठाएर कहाँ लाने ? त्यसैले केही दिन फोहोर उठ्ने सम्भावना छैन ।’
उनका अनुसार आइतवार उठाइएको फोहोर डम्पिङ साइडसम्म पु¥याउन नसकेपछि फोहोर सहितको ट्याक्टर र टिपर नगरपालिका कार्यालयको पार्किङ स्थलमा राखिएको छ । करिव ६० मिटर कच्ची सडक ढलान भए समस्या समाधान हुने उनको भनाइ छ ।
‘यसअघि पनि बाटोकै कारण २५ दिन फोहोर उठाउन सकेनौ, अव अहिले पनि त्यही समस्या भयो, ६० मिटर सडक मात्र ढलान भए बाह्रै महिना फोहोर व्यवस्थापनमा समस्या हुने थिएन,’ उनले भने । नगर कार्यपालिकाको बैठकमा समेत यो बारेमा जानकारी गराएपनि समस्या समाधानका लागी कुनै पहल नभएको श्रेष्ठले बताए ।
डस्विनसँगै अन्यत्र डम्पिङ साइडको व्यवस्थापन गरिदिन पनि प्रालिले नगरपालिकालाई आग्रह गरेको छ । ‘वडा नम्वर १ देखि ४ सम्मको फोहोरलाई सोही क्षेत्रमा डम्प गर्ने, १० देखि १४ सम्मको वडाका फोहोरलाई सोही क्षेत्रमा र बाँकी वडाको फोहोर हाल नगरपालिका–८ सिमलगैरीमा रहेको डम्पिङ साइडमा व्यवस्थापन गर्न सके फोहोर व्यवस्थापनमा सहज हुन्छ,’ श्रेष्ठले भने ।
तेलमा सहुलियत दिन समेत प्रालिले आग्रह गरेको छ ।



































