३ असोज, गोरखा । संविधान दिवसको अवसरमा आयोजित खुल्ला दौड प्रतियोगीतामा नवराज गुरुङ पहिलो भएका छन् । लक्ष्मीबजार स्थित लियो प्रतिक्षालय देखि पुरानो बसपार्कसम्मको दुरी १८ मिनेट ५१ सेकेण्डमा पार गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन् ।
लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगीतामा निरज भट्टले दोस्रो स्थान हासिल गरेका छन् । उनले निर्धारित दुरी १९ मिनेट १३ सेकेण्डमा पार गरेका थिए ।
त्यस्तै सन्दिप ढकालले तेस्रो र श्याम मग्राती सान्त्वना भएका छन् । उनीहरुले निर्धारित दुरी क्रमश १९ मिनेट ३२ सेकेण्ड र १९ मिनेट ५३ सेकेण्डमा पार गरेका थिए ।
प्रतियोगीतामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र दिइएको कार्यक्रम संयोजक कोपिला गुरुङले बताइन् ।
स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ प्रतियोगीता आयोजना गरिएको हो ।
क्लबका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, क्लबका संस्थापक अध्यक्ष शित्तलकाजि मास्के, सल्लाहकार श्यामबाबु श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार खनाल, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।



































