१० असोज, गोरखा । गोरखा नगरपालिका–६ छहरे स्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकाहरुको सहयोगार्थ दशै सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
बिद्यालयको आयोजना, कालिका सांस्कृतिक कला केन्द्र र गोरखा मल्टिट्यालेन्ट ग्रुपको सह–आयोजना तथा हरमटारी क्लबको बिशेष सहयोगमा यही असोज २३ गते कार्यक्रम हुन लागेको हो । बालमिन्दर बिद्यालय परिसरमा हुने कार्यक्रममा कालिका सांस्कृतिक कला केन्द्र, मल्टिट्यालेन्ट ग्रुप र स्थानीय कलाकारको प्रस्तुती रहने आइतवार भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक योगेन्द्र प्रधानले बताए ।
दिउँसो २ बजेदेखि कार्यक्रम शुरु हुने छ । बिद्यार्थीको सहयोगार्थ अक्षयकोष स्थापना गर्ने र संस्कृती जर्गेना गर्ने उदेश्य समेत रहेको बिद्यालयका प्रधानाध्यापक शिव बहादुर थापाले बताए । ‘कार्यक्रमबाट उठेको रकमले अक्षयकोष स्थापना गर्छाै,’ उनले भने, ‘त्यहाँबाट आउने व्याजले बिद्यालयमा अध्ययनरत अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको पक्षमा खर्च गर्छाै ।’
उनका अनुसार हाल बिद्यालयमा २४ जना अनाथ बालबालिका आवासिय सुविधा सहित बिद्यालयमा निशुल्क अध्ययन गरिरहेका छन् । दिगो आयस्रोत नहुँदा उनीहरुको खर्च व्यवस्थापनमा समस्या भएको उनको गुनासो छ ।



































