जिल्ला स्थित सरकारी कार्यालयहरुलाई आफ्नो वेभसाइट समयमै अद्यावधिक गर्न प्रशासनले निर्देशन दिएको छ ।
कार्यालयका वेभसाइट समयमै अद्यावधिक नगरेको गुनासो आएको भन्दै प्रशासनले कार्यालयका वेभसाइटमा कर्मचारी विवरण लगायत प्रगति विवरण र सबै खाले सूचना राखी वेभ साइटलाई सूचनामूलक बनाउन एवं विवरणहरुलाई समयमै अद्यावधिक गर्न निर्देशन दिएको हो ।
लिखित तथा मौखिक सूचना मागकर्ताको अभिलेख राख्ने र सूचना उपलब्ध गराएको नगराएको प्रगति विवरण अनिवार्य रुपमा प्रशासन कार्यालय र राष्ट्रिय सूचना आयोगमा पठाउन समेत भनिएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
सूचना माग गर्ने व्यक्तिलाई सकेसम्म छिटो सूचना उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले जानकारी दिए । सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा बुधवार अभिमुखिकरण कार्यक्रम समेत भएको थियो ।
जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी एवं पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा प्रजिअ आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहजिकरण गरेका थिए ।



































