१६ असोज, गोरखा । गोरखा दरवारको फूलपाती काठमाण्डौको हनुमान ढोका पठाइएको छ । आइतवार बिहान आठ बजे दशैघरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्वरको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो ।
कोभिडका कारण अघिल्ला बर्ष सामान्य रुपमा फुलपाती पठाउने गरेपनि यसबर्ष भने तामझामका साथ फूलपाती पठाइएको गोरखा दरवार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए । ‘कोभिडले गर्दा दुई बर्ष सामान्य तरिकाले फूलपाती पठायौ,’ उनले भने, ‘तर यस बर्ष बाजागाजा सहित भव्य रुपमा पठाएका छौ ।’
गोरखाबाट पठाइएको फुलपाती हनुमानढोकाबाट फूलपाती संकलनका लागी जिवनपुर आएका टोलीलाई हस्तान्तरण गरिने र सोही टोलीले जमल हुदै साँझ हनुमानढोका लैजाने प्रचलन रहेको उनले जानकारी दिए ।

शनिवार साँझ सुसारेहरुले गोरखा नगरपालिका आसपासको जंगलबाट संकलन गरेको फूलपाती हनुमानढोका पठाइएको हो ।
‘नगरपालिकाको छिपछिपे फाँटमा हामीले केही जग्गा बारबेर गरेर राखेका थियौै, हिजो साँझ सुसारेहरुले त्यहाँ क्षमा पुजा गरेर आसपासको जंगलबाट फूलपाती संकलन गर्नुभयो । त्यही फूलपाती आज बिहान ४ बजे यहाँ ल्याएर काठमाण्डौ पठाएका हौ,’ उनले भने । वेल, दारिम, अशोका, धान, सामा, केरा, हलेदो, उखु र जयन्ती फूलपातीमा समावेश भएको उनले जानकारी दिए ।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी लगायत अन्य सरोकारवालाहरुको उपस्थितीमा फूलपाती काठमाण्डौ पठाइएको हो ।
नगर प्रमुख रानाले विगतदेखिको परम्परालाई निरन्तरता दिदै फूलपाती पठाउने प्रचलन कायम राख्नाले इतिहासको समेत जर्गेना सँगै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने बताए । इतिहास र संस्कृती जर्गेनाका लागी नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

पहिले धादिङको जिवनपुर, नुवाकोट हुदै हिडेर फूलपाती हनुमानढोका पु¥याउने प्रचलन थियो । २०६६ साल देखि यो क्रमलाइ तोडेर मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौ माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।
आजै (आइतवार) साँझ बाजागाज सहित हर्ष बडाइका साथ गोरखा दरवारमा पनि फूलपाती भित्र्याइने बताइएको छ ।



































