२६ असोज, गोरखा । भीमसेन थापा गाउँपालिकामा भएको गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल प्रतियोगीतामा एक लाख ५८ हजार रकम घाटा भएको आयोजकले जनाएको छ ।
वुधवार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा खर्च सार्वजनिक गर्दै आयोजक बोर्लाङ खेलकुद बिकास समितिले आम्दानी भन्दा खर्च धेरै भएको बताएको छ । ‘प्रतियोगीता सम्पन्न गर्न १६ लाख ३८ हजार रकम लाग्यो,’ समिति अध्यक्ष निराजन श्रेष्ठले भने, ‘तर आम्दानी १४ लाख ८० हजार मात्र भयो, यसमध्ये पनि १ लाख ३४ हजार उठ्न बाँकी नै छ ।’
घाटामा गएको रकम तिहारमा देउसी भैलो खेलेर परिपूर्ति गर्ने तयारी भएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार पुरस्कार वितरणमा मात्रै ४ लाख ६२ हजार रकम खर्च भएको थियो । साउण्ड सिस्टमका लागी एक लाख ५० हजार, कलाकारका लागी ६० हजार, एम्पायर र अफिसियल टिमका लागी १ लाख ६३ हजार र खानाको मेसका लागी २ लाख ३० हजार खर्च भएको आयोजकले जननाएको छ ।
यही असोज १२ देखि १६ गतेसम्म भएको प्रतियोगीताका लागी गाउँपालिकाले तीन लाख, वडा नम्वर ७ ले एक लाख ५० हजार र वडा नम्वर ८ ले ५० हजार रकम विनियोजन गरेका थिए । बाँकी रकम अन्य संघसंस्था तथा व्यक्तिबाट संकलन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले पालिकाको खेल क्षेत्रको बिकासका लागी सदैव सहयोग गर्न तयार रहेको बताए । आगामी दिनमा अन्य विधाका खेलहरु पनि आयोजना गर्नु आवश्यक रहेको उनको भनाइ छ ।



































