२९ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बिशेष निगरानीमा रहेको बताएका छन् । शनिवार नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित उम्मेदवारको परिचयात्मक एवं अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उम्मेदवारी दर्ताका लागी पञ्चेबाजा सहित आएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको सन्दर्भलाई जोड्दै उनले भने, ‘अस्ति कसले बाजा बजायो भने, (हास्दै)… मलाई थाहा पनि छैन बाजा कहाँबाट आयो, कसले ल्यायो, कसले बजायो । निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो । मैले बाजा बजाउने मेरो योजना होइन भनेर लिखित स्पष्टीकरण दिए । अहिले प्रचण्ड कता जान्छ के बोल्छ भनेर माइक्रोस्कोपले हेर्ने गरेका छन् ।’
कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भएपछि जिल्लाको बिकासका निम्ति आफूले गर्ने कामहरुको बारेमा पनि स्पष्ट पारे । बुढीगण्डकी परियोजना निर्माण कार्य अघि बढ्ने बताउदै उनले आफूलाई निर्वाचित गराएमा झन् छिटो बन्ने आश्वासन दिए । रणनितिक महत्व भएको बेनिघाट–आरुघाट–लार्के सडक तिव्र गतिमा निर्माण गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । त्यस्तै बारपाक र माछाखोला जोड्ने रणनितिक सडकसँगै भौतिक संरचना निर्माणको कामलाइ अघि बढाउने उनले बताए ।
पालुङटार एयरपोर्ट संचालनका लागी नागरिक उड्डयन प्राधिकरणसँग कुरा भइसकेको उनले जानकारी दिए । ‘हिजो मात्र म यहाँ आएपछि पालुङटार एयरपोर्ट संचालन गर्नप¥यो भनेर नागरिक उड्डयन प्राधिकरणका हाकिमसँग कुरा गरे, केही दिन अघि चितवनको मेघौलीमा पनि एयरपोर्टको शिलन्यास गरेको थिए, मेलै उहाँलाई पालुङटार एयरपोर्टको स्टाटस के छ ? यसलाई पनि मेघौलीको जस्तै शिलन्यास गर्न सकिदैन भने । उहाले सकिन्छ म भोली आउ भन्नुभयो । एकछिन पछि फेरी बिचार गरे, आचार संहिता लागेको छ, म उम्मेदवार छु, अहिले चुनावको बिचमै एयरपोर्टो शिलन्यास गरियो भने त बरबाद हुन्छ भनेर अहिलेलाई रोके,’ उनले भने ।
चुनाव लगतै एयरपोर्ट संचालन गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।



































