७ कात्तिक, गोरखा । निजी क्षेत्रमा बैंकले गरेको ऋण लगानीको व्याज मनपरी ढंगले महिनै पिच्छे बढाउने र सेवा शुल्कको नाममा अनेकौ शुल्क लिएर आर्थिक भार थपेको भन्दै गोरखा उद्योग वाणिज्य संघले बिरोध जनाएको छ ।
आइतवार जिल्ला प्रशासन कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै संघले उच्च दरको ब्याज एकल अंकमा कायम गरी स्थायित्व कायम गर्न माग गरेको छ । कर्जा प्रवाह र नविकरणमा लाग्ने कुनै पनि सेवा शुल्क लिन नपाइने व्यवस्था कायम गर्न र कर्जाको ब्याजदर बृद्धि गर्दा ऋणीसँग अनिवार्य सहमति गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
‘व्यवसायीले लिएको ऋण रकमको पाँच गुणासम्म बार्षिक कारोवार देखाउनुपर्ने व्यवस्थालाई खारेजी गरिनुपर्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘वित्तिय सन्तुलनका लागी निक्षेपको ब्याजदर क्रमिक रुपमा घट्दै जाने हो भने उद्योग व्यवसायमा लगानी भएको ब्याजदर पनि क्रमश घट्दै जाने प्रक्रियालाई कायम गरिनुपर्छ ।’
निजी क्षेत्रलाई संरक्षण दिई व्यापार व्यवसाय सहजिकरण गर्न र लगानीमैत्री वातावरण बनाउन पनि संघले आग्रह गरेको छ ।



































