२३ कात्तिक, गोरखा । मंसिर ४ गतेको निर्वाचनमा खटिने गोरखाका मतदान अधिकृत र सहायक अधिकृतहरुका लागी तालिम शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा बुधवारबाट तालिम शुरु भएको हो ।
पहिलो दिन गण्डकी, धार्चे, चुमनुव्री र आरुघाट गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिइएको जिल्ला निर्वाचन अधिकृत टेक बहादुर कोइरालाले बताए ।
उनका अनुसार बिहीवार बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकामा खटिने अधिकृतहरुलाई तालिम दिइने छ । ‘कात्तिक २५ गते शुक्रवार शहिद लखन, भीमसेन थापा र गोरखा नगरपालिका वडा नम्वर १ देखि ७ मा खटिनेहरुलाई तालिम दिन्छौ,’ जिल्ला निर्वाचन अधिकृत कोइरालाले भने, ‘कात्तिक २६ गते शनिवार पालुङटार नगरपालिका र गोरखा नगरपालिका वडा नम्वर ८ देखि १४ मा खटिने अधिकृतहरुको पालो हुन्छ ।’
तालिम पश्चात उनीहरुलाई सम्बन्धित मतदान केन्द्रमा खटाइने कार्यालयले जनाएको छ ।



































