२५ कात्तिक, गोरखा । गोरखाको लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसलाई ९ करोडभन्दा बढी रकम सहयोग प्राप्त भएको छ । अमेरिकी नागरिक प्रा. डा. जेनिस ह्व्पिलबाट ९ करोड ७८ लाख ९८ हजार रकम प्राप्त भएको क्याम्पसले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
सन् २००४ मा नेपाल आउँदा जेनिसले आफ्नो मृत्यु पश्चात नीजि सम्पत्ति क्याम्पसलाई दिने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही प्रतिवद्धता अनुसार रकम प्राप्त भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए । ‘क्याम्पसको दिगो बिकास र संचालनका लागी मृत्यु पश्चात आफ्नो बाँकी रहेको निजी सम्पत्ति क्याम्पसलाई प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको रहेछ,’ उनले भने, ‘सन् २०२० फेव्रुअरी १ मा उहाँको निधन भयो, उहाँको प्रतिवद्धता अनुसार हामीलाई रकम प्राप्त भयो ।’
जेनिस ह्व्पिल क्याम्पस बिकास कोष स्थापना गरेर उक्त रकम बैंकमा जम्मा गरिएको उनले जानकारी दिए । रकम संचालनका लागी कार्यविधि पनि निर्माण गरिएको छ । कार्यविधि अनुसार उक्त रकमबाट आउने ब्याजको ४० प्रतिशत रकम क्याम्पस संचालनका लागी खर्च गरिने बताइएको छ । १५ प्रतिशत कार्यरत जनशक्तिको कल्याणकारी कार्यमा खर्च गरिने छ ।
जनशक्तिको बृत्ति बिकास र बिद्यार्थी लक्षित कार्यमा १०/१० प्रतिशत रकम खर्च गरिने कार्यविधिमा उल्लेख छ । २५ प्रतिशत रकम कोषमा नै थप गरिने बताइएको छ । उक्त कोषबाट आर्थिक रुपले पछाडी परेका जेहेन्दार, दलित, अल्पसंख्यक तथा लोपउन्मुख बिद्यार्थीहरुलाई थप आकर्षण गर्न सहयोग पुग्ने साथै क्याम्पस संचालनका लागी दिर्घकालिन स्थायी स्रोत रहन सफल हुने अपेक्षा समेत गरिएको छ ।
२०४२ सालमा सामुदायिक क्याम्पसको रुपमा स्थापन भएको यस क्याम्पसमा हाल ६ सय १६ बिद्यार्थी अध्ययरत छन् ।



































