२९ कात्तिक, गोरखा । बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटथोक स्थित माइकोट माविको हातामा घेरावार लगाइएको छ । नेपाली सेनाको जनहित कार्यक्रम अन्तरगत ८ सय मिटर घेरावार लगाइएको रिपुमर्दन गणका गणपती हेमराज बिष्टले बताए ।
कुल दश लाखको बजेटले बिद्यालय कम्पाउण्डमा घेरावार लगाइएको उनले जानकारी दिए । उक्त घेरावारको सोमवार एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतनापती उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले घेरावार निर्माण भएसँगै बिद्यालयको पठनपाठनमा समेत सहज भएको बताए । ‘घेरावार नहुँदा कुकुर गाइवस्तु कक्षा भित्रै आउथे, तर अहिले त्यो समस्या छैन,’ उनले भने, ‘घेरावार भएपछि बिद्यालयको सम्पत्ति पनि सुरक्षित भएको छ ।’ मूल गेट भने आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णु भट्टले आगामी बर्षको बजेटमा गेट निर्माणका लागी बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सुभप्रभात नेपाली, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



































