९ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्वहरुले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रवार गोरखा सदरमुकाममा बाम लोकतान्त्रिक गठवन्धनद्धारा आयोजित धन्यवाद एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचनमा राजनीतिक एजेण्डा र बिचारको अवमूल्यन किन भयो ? भन्ने बारे दलहरुले सोच्नुपर्ने बेला आएको बताए ।
‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरवारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो,’ उनले भने, ‘कुनै राजनीतिक सिद्धान्त, बिचार र एजेण्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरु गम्भिर भएर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ ।’
यो आफूहरुका लागी चुनौतीको बिषय रहेको भन्दै उनले कसैलाई आलोचना र आरोप लगाउनुभन्दा एक पटक आफैभित्र फर्केर आफ्ना कमजोरी केलाउन दलका नेतृत्वहरुलाई आग्रह गरेका छन् । पार्टीका नेतृत्वले गम्भिर आत्मसमिक्षा गरेर आगामी दिनमा जनताका लागी समर्पित हुने कार्यक्रम र योजना ल्याउन नसके देश अप्ठ्यारोमा पर्न सक्ने समेत उनले बताए ।
यसपटकको निर्वाचनमा अपेक्षा अनुसारको नजिता आउन नसकेको उनले स्वीकार गरे । ‘परिणात्मक रुपमा गठवन्धन सफल भयो, गोरखामा गठवन्धनका सबै उम्मेदवार बिजयी भए तर जस्तो आशा र अपेक्षा थियो त्यो देशभर देखिएन, त्यसका लागी गठवन्धनका दलहरुले केही अभ्यास गर्नुपर्ने भएको छ,’ उनले भने । त्यसकै लागी आजै केन्द्रमा गठवन्धनको बैठक बस्ने जानकारी उनले गराए ।
गोरखा २ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्डले शुक्रवार प्रमाणपत्र लिएका छन् । निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईले उनलाई एक कार्यक्रमका बिच प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले आफ्ना मतदाताहरुलाई धन्यवाद व्यक्त गरे ।



































