१९ मंसिर, गोरखा । गर्भवती महिलालाई लक्षित गर्दै आरुघाट गाउँपालिकाले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । आइतवारबाट शुरु भएको कार्यक्रमको गाउँपालिका अध्यक्ष राजु गुरुङले उद्घाटन गरेका हुन् ।
पहिलो दिन केरौजा स्वास्थ्यचौकीमा संचालन भएको कार्यक्रममा १२ जना गर्भवती महिलाले सेवा लिएका छन् । सोमवार फेज नेपाल नामक संस्थाको भवनमा कार्यक्रम संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।
उनका अनुसार मंगलवार थुमी स्वास्थ्यचौकी, बुधवार आरुआर्वाड स्वास्थ्यचौकी र बिहीवार आरुपोखरी स्वास्थ्यचौकीमा कार्यक्रम संचालन हुने छ ।
कार्यक्रम बिहीवारसम्म संचालन हुने जानकारी गराउदै थापाले पायक पर्ने स्वास्थ्य संस्थामा गएर सेवा लिन आग्रह समेत गरेका छन् । उच्च मातृ तथा शिशु मृत्युदरलाई कम गर्नका लागी ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम संचालन गरिएको बताइएको छ ।



































