२ पुष, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ पाँडेवेशीमा चम्पावती हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको चेपे ‘ए’ जलबिद्युत आयोजनाको विवाद चर्किएको छ । स्टमेट अनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयहरु संघर्ष समिति नै बनाएर बिरोधमा उत्रिएका छन् ।
आयोजनाकै कारण करिव नौ सय हेक्टर खेतियोग्य जमिनको सिंचाइमा असर पुग्ने भन्दै उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।
‘अनुमति लिएको डिपिआर र आइईई रिपोर्ट अनुसार संरचना बनेको छैन,’ राइनासटार सिंचाई आयोजना बचाउ संघर्ष समितिका संयोजक श्रीकृष्ण पौडेलले भने, ‘यही संरचना अनुसार हाइड्रो बन्यो भने सिंचाइका लागी प्रयोग हुदै आएको नहरको बाँधभन्दा तल पानी झर्छ, अनि नहरमा पानी नचढेपछि खेतमा सिंचाइ कसरी हुन्छ ?’ हाल निर्माण भइरहेको स्थलभन्दा दुई सय मिटर माथि पावर हाउस निर्माण भए सिंचाइमा समस्या नहुने उनले बताए ।
उनका अनुसार राइनास नगरपालिकाको सात वडाको करिव १४ सय हेक्टर जमिन सिंचित गर्ने उदेश्यले उक्त सिंचाइ आयोजना निर्माण भएको हो । हाल आयोजनाबाट ८ सय ५० हेक्टर क्षेत्रफल सिंचित भइरहेको छ । तर हाल निर्माणाधिन हाइड्रोकै कारण सिंचाइमा समस्या पुग्ने भन्दै स्थानीयहरु बिरोधमा उत्रिएका हुन् । ‘डिपिआर अनुसार नहरको बाँधको दुइ सय मिटर माथि पानीको निकास दिने भन्ने छ, तर अहिले उनीहरुले स्टमेटभन्दा फरक हिसावले संरचना बनाउन थालेका छन्, त्यसो गर्दा नहरको बाँधभन्दा दुइ सय मिटर तल पानी खस्छ नहरमा पानी जादैन अनि खेत बाँझै बस्ने भयो, त्यसैले हामी बिरोधमा उत्रिएका हौ,’ पौडेलले भने ।
बिरोधमा उत्रिएका स्थानीयले मंसिर २४ गते हाइड्रोको कार्यालयमा तोडफोडसँगै आगजनी गरेका थिए । आगजनीबाट कार्यालय परिसरमा रहेको मिनि ट्रक र मोटरसाइकलमा पूर्ण रुपमा र जेसिभीमा आशिंक क्षति पुगेको थियो । हाइड्रोको कार्यालय रहेको दुई वटा अस्थायी टहरामा समेत आगजनी भएको थियो ।
घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आयोजनाले आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जायरी समेत दिएको छ । करिव ३३ करोड ४० लाखको क्षति भएको भन्दै क्षतिपूर्तीको माग समेत गरेको छ । शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजनाले स्वीकृत डिपिआर र आइईई अनुसार काम भइरहेको र यसले राइनास नहरमा कुनै असर नपर्ने बताएको छ ।

‘पावरहाउसको टेलरेसबाट निस्कने पानी चेपे खोला र चिल्ली खोलाको दोभानभन्दा माथि फाल्ने गरी बनाइएको छ,’ आयोजना अध्यक्ष हरिराम पराजुलीले भने, ‘यसले गर्दा राइनास नहरमा जाने पानीको वहाव यथावत रहने र नहरलाई कुनै असर नपर्ने स्पष्ट छ ।’ सम्बन्धित निकायबाट स्वीकृत प्राप्त वातावरणीय अध्ययन प्रतिवेदन (आइईई) र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा उल्लेख भए अनुसार नै काम अघि बढेको उनले बताए ।
बिरोधमा उत्रिएका स्थानीय र आयोजना बिच पटक पटक छलफल पनि भइरहेको छ तर सहमति भने जुट्न सकेको छैन । एक अर्व ३२ करोडको लागतमा निर्माण हुन लागेको उक्त आयोजना ७ मेगावाट क्षमताका रहेको छ ।
हालसम्म करिव ५५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।



































