१८ पुष, गोरखा । माग भएका सूचना दिन कन्ज्यूँस्याई नगर्न प्रशासनले सरकारी कार्यालयलाई निर्देशन दिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको सूचना अधिकारी र पत्रकार बिचको छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले माग भएको सूचना सहज रुपमा उपलब्ध गराउन निर्देश गरेका हुन् ।
समयमै सूचना उपलब्ध नगराउने र लुकाउने सूचना अधिकारीलाई कारवाही समेत हुने उनले जानकारी गराए । कार्यक्रममा सहभागी जिल्लाका पत्रकारहरुले सूचना अधिकारीबाट पर्याप्त सूचना पाउन नसकेको गुनासो गरेका थिए । कतिपय सूचना अधिकारी कार्यालयको गतिविधीबारे आफै अनविज्ञ हुने भएकाले पनि सूचना लिन समस्या हुने गरेको पत्रकारहरुको गुनासो थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले पत्रकार र सूचना अधिकारी एक आपसमा समन्वय गरेर अघि बढ्नुपर्ने बताए । वेभसाइटबाट पनि धेरै सूचना लिन सकिने बताउदै उनले आफ्नो कार्यालयको वेभसाइट नियमित अद्यावधिक गर्न सूचना अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारीको भूमिका र पत्रकारको अपेक्षा बिषयमा प्रस्तुतीकरण गरेका थिए ।



































