१९ पुष, गोरखा । नियम विपरित हुने प्राकृतिक स्रोत साधनको दोहनमा रोक लगाउन कडाई गरिने भएको छ । विपद व्यवस्थापन समितिको अगुवाइमा मंगलवार बसेको विपद व्यवस्थापनको क्षेत्रमा क्रियाशिल सरकारी एवं गैरसरकारी निकायको समन्वयात्मक बैठकले गैरकानूनी रुपमा गरिने दोहन रोक्न आवश्यक समन्वय र सहयोग गर्न सम्बन्धित निकायहरुलाइ आग्रह समेत गरेको छ ।
वातावरणीय र प्राविधिक अध्ययन विना बिकास निर्माणका कामहरु संचालन नगर्न पनि समितिले आग्रह गरेको छ । जिल्लामा संचालनमा रहेको एम्वुलेन्सहरु तयारी अवस्थामा राख्न र दोहोरोपना नआउने गरी विपद व्यवस्थापनका कार्यक्रम संचालन गर्न भनिएको छ ।
हिमाली क्षेत्रमा चिसोबाट जनजीवन प्रभावित हुन सक्ने भएकाले सचेतनामूलक कार्यक्रम संचालन गर्न र वन डढेलोको प्रकोपबाट बच्न अग्निरेखा निर्माण र डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम संचालन गर्न पनि सम्बन्धित निकायलाई भनिएको छ ।
छिमेकी मुलुकमा देखिएको कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न बेलैमा सर्तकता अपनाउदै जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि सम्बन्धित निकायहरुलाई आग्रह गरिएको छ ।
समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा भएको बैठकमा सरकारी एवं गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।



































