२१ पुष, गोरखा । सडक दुर्घटना न्यूनिकरणका लागी यातायातको सहज आउजाउ गराउन जिल्लाको सडक सुरक्षालाई प्रभावकारी बनाइने भएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला स्तरीय समन्वय समितिको बैठकले सडक सुरक्षा प्रभावकारी बनाउन बिभिन्न निर्णयहरु गरेको छ ।
फुटपाथ र सडकमा गरिने व्यापार बन्द गर्ने र सडक एवं सडकपेटीमा निर्माण सामग्री राख्नेलाई कानूनी कारवाही गरिने बताइएको छ । सडकमा पशुपंक्षी छाड्ने पशुपंक्षी धनीलाई कारवाही गरिने चेतावनी दिइएको छ ।
सडकका खाल्डा खुल्डी तत्काल पुर्ने र सडक मर्मत सम्भार गरी दुरुस्त अवस्थामा राख्न समेत सम्बन्धित निकायलाई भनिएको प्रजिअ आचार्यले बताए । ‘विगतको मनसुनमा आवतजावतमा कठिनाई भएको कोखे आहाले पहिरो र अन्य बन्द भएका सडकको बैकल्पिक व्यवस्था वा मर्मत सम्भारको अध्ययन सहितको भरपर्दाे व्यवस्था मिलाउन समेत भनेका छौ,’ उनले भने ।
सम्बन्धित निकायको अनुमति विना सडकबाट शाखाबाटो नखोल्न पनि निर्देश गरिएको छ । सडकखन्दा निस्किएको माटो लगायत अन्य पदार्थको उचित व्यवस्थापन गर्न र सडक छेउमा घडेरी र शाखा बाटो खन्दा नाली पुरिएमा सम्बन्धित व्यक्ति वा संस्थाले तत्काल सफा गर्ने व्यवस्था मिलाउनुपर्ने बताइएको छ ।
‘घुम्ती लगायत सडक छेउमा राखिएका सडक संकेतहरु तत्काल अध्यावधिक गर्न, सम्भव भएका स्थानमा सडक ऐना राख्न, सडक छेउमा उम्री बढेका घाँस, झारपात र रुख हटाउन पनि भनेका छौ,’ प्रजिअ आचार्यले भने ।
जथाभावी पार्किङ गर्ने र तिव्र गतिमा सवारी चलाउनेलाई समेत कारवाही गरिने उनले चेतावनी दिएका छन् ।



































