२७ पुष, गोरखा । अनेपेक्षित समर्थन पाएर मंगलवार सांसद बैठकबाट बिश्वासको मत जितेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वुधवार गोरखा आइपुगे । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको ११ औ गोरखा महोत्सवको उदघाटन कार्यक्रममा सहभागी हुन आएका उनले सम्बोधनका क्रममा बिश्वासको मत नलिदाँसम्म आफू चिन्तामा रहेको बताए ।
राजनीतिक दलबिच बिभाजन आएर बिश्वासको मत नपाउने हो की भन्ने चिन्ता आफूलाई रहेको अभिव्यक्ति उनले दिए । ‘हिजोसम्म मलाई अलिकति चिन्ता थियो, कतै राजनितिक दलबिच बिभाजन भयो भने, उनीहरु बिच प्रतिवद्धता र बिश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो की भनेर,’ उनले भने, ‘हामी निर्वाचन लड्दा गठवन्धनबाट चुनाव लडेको हो, त्यसलाई बिचार गरेर सदनमा सबै राजनितिक दलको एकता होस् भन्ने चाहेको थिए, सोचे जस्तै भयो म यसमा धेरै खुशी छु ।’
गोरखा जिल्लाको जनप्रतिनिधिको रुपमा मात्र नभई राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण समेत रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै उनले गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागी गौरवको बिषय रहेको जानकारी दिए । भने, ‘अव छिट्टै प्रदेश सरकार पनि गठन हुदैछ, प्रदेशमा पनि गोरखाबाट मन्त्री हुने सम्भावना छ, केन्द्रमा प्रधानमन्त्री पनि गोरखाबाट, भौतिक पूर्वाधार मन्त्री पनि गोरखाबाट अनि प्रदेशमा पनि मन्त्री हुनु यो एउटा दुर्लभ पाइने अवसर हो ।’ जिल्लाको आर्थिक क्रियाकलाप र बिकास निर्माणका काम अघि बढाउन यसले सकारात्मक भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
निर्वाचनको दौरान आफूले गरेका वाचा र प्रतिवद्धताहरुको राम्रै सम्झना रहेको बताउदै उनले पूरा गर्नका लागी सकारात्मक भूमिका निर्वाह गर्ने जानकारी गराए । पृथ्वी जयन्ती ऐतिहासिक र दुरगामी महत्वका दिन भएकाले क्याविनेटबाट सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए । यसले सिङ्गो राष्ट्र र नेपाली जनतासँगै गोरखा र गोर्खाली जनताको पनि सम्मान भएको उनको भनाइ छ ।



































