२८ पुष, गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखामा स्टिम जिरा मसिनो चामल आइपुगेको छ । स्थानीयको मागलाई मध्यनजर गर्दै चामल ल्याइएको कार्यालयले जनाएको छ । भोली शुक्रवारदेखि कार्यालय समयमा चामल खरिद गर्न सकिने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।
उनका अनुसार उक्त चामलको प्रति केजी ७० पर्नेछ । सोना मंसुली चामलको भने प्रति केजी ५२ रुपैया पर्ने उनले जानकारी दिए । कार्यालयले यस बर्ष सिर्दिवास डिपोमा २ सय ५२ क्विन्टल चामल ढुवानी गरिसकेको छ । सो डिपोका लागी यस बर्ष ३ हजार ५ सय क्विन्टल कोटा स्वीकृत भएको छ ।
‘हाम्रो शाखाबाट २ हजार र बिमलनगरको शाखाबाट १ हजार ५ सय कोटा ढुवानी हुने हो,’ सुनारले भने, ‘हामीले २ सय ५२ ढुवानी गरिसक्यौ, बिमलनगरबाट ६ सय ६० क्विन्टल ढुवानी भइसक्यो ।’
सिर्दिवास डिपोबाट सोना मंसुली चामल प्रति केजी ५४ रुपैयामा बिक्री भइरहेको छ । स्टिम जिरा मसिनो चामल भने प्रति केजी ७२ रुपैया पर्ने बताइएको छ । माछाखोला डिपोबाट भने ७० रुपैया किलोमा चामल खरिद गर्न पाइने छ ।
माछाखोला डिपोमा भने हालसम्म चामल ढुवानी भएको छैन । स्टिम जिरा मसिनो चामलको माग बढेसँगै सोना मंसुली बिक्रि हुन नसकेकाले समस्या भएको कार्यालयका निमित्त प्रमुख मुनिलाल कुश्वाहाले बताए ।



































