२ माघ, गोरखा । पोखरामा आइतवार भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा गोरखामा दिप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ गोरखा शाखा र गोरखा जेसिजको संयुक्त आयोजनामा सोमवार साँझ दिप प्रज्वलन गरिएको हो ।
जिल्ला सदरमुकामको पुरानो बसपार्कमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा जेसिजका अध्यक्ष पुष्कर गुरुङ, पूर्व अध्यक्ष एवं पदाधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत भएको पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टाले बताए ।
काठमाण्डौबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो । दुर्घटनामा परि चालक दलका चार जना सदस्य सहित ७२ जनाको निधन भएको हो ।



































