गर्भमा बच्चा बसेदेखि सबै अभिभावकको मनमा बिभिन्न चिन्तन शुरु हुन्छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था कस्तो होला ? उसको विकास कसरी भइरहेको छ ? कतै अशक्त बच्चा त जन्मने होइन ? जन्मजात शारीरिक कमजोरी हुने हो की ? यस्ता प्रकारका चिन्तन हुनु स्वभाविक हो । गर्भको बच्चा त्यसैपनि संवेदनशिल हुन्छन् । बच्चाको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ । उनीहरूको स्वास्थ्यमा सानोतिनो कुराको पनि असर पर्छ ।
जटिलता चाहि के छ भने बच्चालाई जन्म नदिएसम्म उसको स्वास्थ्य कस्तो छ भन्ने सामान्य आँकलन गर्न पनि हामीलाई गाह्रो हुन्छ । गर्भमा हुर्किरहेको बच्चा सग्लो छ/छैन ? भन्ने कुरामा हामी अनभिज्ञ हुन्छौं । यी सबै कुरा थाहा पाउनका लागी एनोमली स्क्यान (anomaly scan) परिक्षणबाट थाहा पाउन सकिन्छ । यसबारे जानकारी लिन हामीले भरतपुर अस्पतालको मौलाकालिका अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. रमेश घिमिरे सँग कुराकानी गरेका छौ :
के हो एनोमली स्क्यान (anomaly scan) ?
बच्चा आमाको पेटमा हुर्किरहेको बेला, शारीरिक अवस्था, अपाङ्गता, बच्चाको बृद्धि विकास कस्तो भईरहेको छ ? भनेर भिडियो एक्स–रे मार्फत जाच्ने प्रविधिलाई एनोमली स्क्यान (anomaly scan) भनिन्छ । आमाको पेटमा रहेको बच्चा पाँच महिना पुगिसकेपछि बच्चाको सम्पूर्ण शारीरिक अवस्था एवं टाउकोदेखि खुट्टासम्म सबै अंगको अवस्था जाँच गरिन्छ । यो फोरडि भिडियो एक्स–रे मार्फत गरिन्छ ।
यसबाट बच्चाको टाउकोमा पानी जमको छ छैन, टाउको भए नभएको, ओठ काटिएको छ/छैन, तालु फाटे नफाटेको, नाक भए नभएको, आँखा भए नभएको, फोक्सो र कलेजोमा केही समस्या भए नभएको हेर्न मिल्छ । त्यस्तै मुटुको समस्या जस्तै, मुटुमा प्वाल परेको छ/छैन, रगतका नलीहरुमा समस्या भए नभएको, पेटको आन्द्रा बाहिर निस्किएको छ/छैन, मिर्गौला सुनिएको छ/छैन, मिर्गौला भए नभएको, पिसाब थैलीमा समस्या छ/छैन, हातखुट्टा भए नभएको, गुप्तांङ्गको समस्या र लुलो लंगडो सबै हेर्न मिल्छ ।
एनोमली स्क्यान (anomaly scan) कहिले र किन गर्ने ?
एनोमली स्क्यान आमाको पेटमा पाँच महिनाको बच्चा भईसकेपछि गर्नुपर्छ । किनकि पाँच महिनापछि बच्चाको सम्पूर्ण अंग विकास भईसकेको हुन्छ । बच्चामा कुनै कमजोरी छ भने यो समयमा देख्न सकिन्छ । पाँच महिनापछि भएका अंगहरुको बृद्धि विकास मात्रै हुने हो ।
एनोमली स्क्यान गर्दा आमा र बच्चालाई असर गर्छ कि गर्दैन ?
एनोमली स्क्यान गर्दा आमा र बच्चालाई धेरै रेडिएसन आएर असर गर्छ कि गर्दैन भन्ने धेरैको जिज्ञासा रहने गर्दछ । एनोमली स्क्यान होस् वा सामान्य भिडियो एक्सरे यसबाट निस्कने रेडिएसन भनेको आवाज (ध्वनी), अल्ट्रासाउण्ड हो । त्यसैले यसले पेटभित्रको बच्चा र आमालाई कुनै प्रकारको असर गर्दैन ।
भिडियो एक्सरे कतिपटक गर्न मिल्छ ?
डाक्टरको सुझाव सल्लाह बमोजिम भिडियो एक्सरे जति पटक गर्दा पनि केही फरक पर्दैन । यसले स्वास्थ्यमा कुनै असर नपर्ने भएकाले आमा र गर्भमा रहेको बच्चालाई पनि कुनै असर गर्दैन । भरतपुरको मौलाकालिका अस्पतालमा हामीले अत्याधिक हाई रिजुलेसन भएको फोरडि भिडियो एक्सरे मेसिनद्वारा सेवा दिंदै आएका छौं । यस अस्पतालमा आत्यााधुनिक high resolution भएको 4D रङ्गीन भिडियो एक्सरे बाट anomaly scan साथै सम्पूर्ण भिडियो एक्सरे गर्दछौं ।
((सिनियर कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. रमेश घिमिरेसँगको कुराकानीमा आधारित))



































