७ माघ, गोरखा । बिकासे काम छाडेर माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन नगरपालिकाको डोजर प्रयोग भएपछि गोरखा नगरपालिकाको तिव्र आलोचना भएको छ । मेयर कृष्ण बहादुर राना मगरको ठाडो निर्देशनमा विगत तीन दिनदेखि गोरखा नगरपालिका–६ पाटेचौर स्थित माओवादी पाटी कार्यालयको जग्गा सम्याउन डोजर प्रयोग हुदै आएको छ ।
ग १ ग १६२ नम्वरको सरकारी डोजर आजपनि पार्टी कार्यालयको जग्गा सम्याउन व्यस्त छ । दैनिक ११ घण्टा डोजर संचालन हुदै आएको नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरे स्वयम बताउँछन् । मेयरकै निर्देशनमा डोजर पठाइएको उनले जानकारी दिए ।
तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल भने यसबारे अनविज्ञ छन् । भन्छन्, ‘माओवादी पाटी कार्यालयको जग्गा सम्याउन नगरको डोजर प्रयोग गर्नुप¥यो भनेर मलाई कसैले केही भनेका पनि छैनन्, डोजर प्रयोग भएको छ भन्ने कुरा मलाई थाहा पनि भएन ।’ यसबारे सोधपुछ गर्ने उनले बताए ।
नगर क्षेत्रका सडक एवं बिकास निर्माणको कामका साथै विपदको समयमा प्रयोग गर्ने भन्दै नगरपालिकाले डोजर किनेको हो । सामान्यतया सम्बन्धित वडाका प्राविधिकले कामको स्टिमेट गरेर पठाएपछि मात्र डोजर पठाउने प्रावधान रहेको कार्यालयका एक कर्मचारी बताउछन् । उनी भन्छन्, ‘कुनै वडाको बिकासे काममा डोजर प्रयोग गर्न प¥यो भने वडाका प्राविधिकले पहिले कामको स्टिमेट गरेर ल्याउछन् अनि बल्ल स्वीकृत भएपछि डोजर पठाउने हो ।’
तर विना प्राविधिक स्टिमेट माओवादी पाटी कार्यालयको जग्गा सम्याउन डोजर प्रयोग भइरहेको छ । नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत अधिकांश कर्मचारी र जनप्रतिनिधीलाई डोजरको दुरुपयोग भएकोबारे जानकारी नै छैन । उपप्रमुख मसली माया थोकरले समेत यसबारे आफू अनविज्ञ रहेको बताइन् ।
डोजरको दुरुपयोग गर्दै आफू निकट पाटी कार्यालयको जग्गा सम्याउन डोजर प्रयोग गरिरहेका मेयर राना भने शहिद स्मृती भवन निर्माणका लागी डोजर सहयोग गरेको बताए । ‘प्रदेश सरकारको बजेटमा त्यहाँ पार्टीको शहिद स्मृती प्रतिष्ठान भवन बन्न लागेको छ, त्यसकै लागी जग्गा खार्न डोजर सहयोग गरेका हौ,’ उनले भने ।
डोजर निशुल्क सहयोग गरेको समेत उनले जानकारी दिए । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट राना मेयरमा बिजयी बनेका हुन् ।



































