२०७९ साल भदौ ८ गते पालुङटार नगरपालिकाकी ७ बर्षिया बालिका आफ्नै काकाबाट बलात्कृत भइन् । घरमा बसिरहेका बेला नाताले काका पर्ने २० बर्षिय युवकले उनलाई जवरजस्ती करणी गरे । सोही दिन बिहान तिनै युवकले नाताले छोरी पर्ने १४ महिने नाबालिकालाई पनि जवरजस्ती करणी गरेको प्रहरी बताउँछ । ती युवक बिरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता भई कारवाही प्रक्रिया अघि बढेको छ । उनी पुर्पक्षका लागी कारागार चलान भइसकेका छन् ।
२०७९ साल मंसिर २ गते पालुङटार नगरपालिकाकै १२ बर्षिया बालिका बलात्कारको शिकार बनिन् । नाताले दाजु पर्ने व्यक्तिले घरमा कोही नभएको मौका छोपी चक्कु देखाई डर, धाक–धम्की दिई शौचालयमा लगेर जवरजस्ती करणी गरे । ती युवक बिरुद्ध पनि जवरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता भएको छ । निजलाई पनि पुर्पक्षका लागी कारागार पठाइएको प्रहरीले जनाएको छ ।
२०७९ साल असोज १७ गते गण्डकी गाउँपालिकाकी ४० बर्षिया महिला आफ्नै भतिजबाट बलात्कृत भइन् । राती ११ बजेको समयमा सडक बाटोमा उनलाई २० बर्षिय भतिजले बलात्कार गरे । ती युवक पनि कारागार चलान भइसकेका छन् ।
२०७९ साल असार ९ गते शहिद लखन गाउँपालिकाकी ५९ बर्षिया महिलालाई आफ्नै जेठाजुले बलात्कार गरे । धाक धम्की दिई बलात्कार गर्ने ६६ बर्षिय जेठाजु अहिले पुर्पक्षका लागी कारागार चलान भइसके ।
यी घटनाक्रमलाई केलाउँदा बालिका एवं महिलाहरु आफन्तबाटै असुरक्षित देखिन्छन् । आफन्तमात्रै होइन छिमेकी र साथीबाट पनि उनीहरु सुरक्षित छैनन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७९÷८० को पुष मसान्तसम्म जिल्लामा १५ वटा यौनजन्य अपराध भइसकेका छन् । जवरजस्ती करणीका ११, जवरजस्ती करणी उद्योगका २ र बालयौन दुरुपयोगका २ वटा मुद्धा दर्ता भएको डिएसपी लिलाराज लामिछाने बताउछन् । ती मध्ये अधिकांशमा आफन्त, छिमेकी र साथी दोषी देखिन्छन् ।
छिमेकी र साथीबाट पनि असुरक्षित
गत साउन महिनामा २० बर्षिय जेम्स राईले बिवाहको प्रलोभन देखाई छिमेकमा बस्ने १६ बर्षिय बालिकालाई जवरजस्ती करणी गरे । गत भदौमा ५० बर्षिय एक बहादुर सुनारले छिमेकी ५५ बर्षिया महिलालाई बलात्कारको प्रयास गरे । त्यस्तै गत असोज ३० गते प्रलोभनमा पारी घरबाट भाग्न लगाएर आफ्नै ठुलीआमाको घरमा लगेर १७ बर्षिय युवकले १३ बर्षिय बालिकालाई बलात्कार गरे ।
गत कात्तिक महिनामा चितवनको इच्छाकामना गाउँपालिकाका ३३ बर्षिय सुनिल चेपाङले १७ बर्षिया बालिकालाई पालुङटार नगरपालिकामा जवरजस्ती करणी गरे । गत बैशाखमा गोरखा नगरपालिकाका २० बर्षिय सुनिल गुरुङले छिमेकी १७ बर्षिय बालिकालाई जवरजस्ती करणी गरे । घटनाका दोषीहरु बिरुद्ध मुद्धा दर्ता भइ आवश्यक कारवाही प्रक्रिया अघि बढीसकेको प्रहरीले जनाएको छ । यो घटनाक्रमलाई हेर्दा आफन्तमात्र होइन छिमेकी र साथीहरुबाट पनि बालिका र महिलाहरु यौनजन्य हिंसाको शिकार बनिरहेका छन् ।
किन बढ्यो यौनजन्य अपराध
यौनजन्य अपराध बढ्नुमा मादक पदार्थ सेवन र अभिभावकको लापरवाही प्रमुख कारण रहेको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनाल बताउछन् । भन्छन्, ‘एक त मादक पदार्थ सेवन हो, अर्काे अभिभावकले आफ्नो बालबच्चाको उचित रेखदेख नगर्दा पनि समस्या भएको छ ।’ बालबच्चाको बिशेष रेखदेख गर्न उनले अभिभावकहरुलाई सुझाव समेत दिएका छन् ।
यौनजन्य अपराध न्यूनिकरणका लागी प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।



































