१६ माघ, गोरखा । गोरखा नगरपालिका–६ पदेली स्थित रानीपोखरीमा दैनिक आरती संचालन हुने भएको छ । फागुन ६ गते शिवरात्रीको दिनबाट आरतीको शुभारम्भ गरिने बताइएको छ । पुष्कर तिर्थको रुपमा चिनिने उक्त पोखरीमा आरती संचालनका लागी समिति पनि गठन भएको छ । नाम पुष्कर तिर्थ आरती समिति राखिएको छ । सोही समितिको संयोजनमा हरेक साँझ आरती हुने समिति अध्यक्ष भगवान बाबु मास्केले बताए ।
‘व्यारेक अगाडी रहेको पिपलबोट तर्फको रानीपोखरी प्रवेश गर्ने गेटभित्रबाट उत्तर (गोरखा दरवारतर्फ) फर्केर आरती गर्छाै,’ उनले भने, ‘मुख्यतया गोरखनाथ र कालिकालाई समर्पण गर्दै अन्य देवी देवताको जयजयकार सहित आरती हुन्छ ।’ आरतीको नाम ‘गोरक्ष आरती’ राखिएको उनले जानकारी दिए ।
गोरक्षनाथ बैद्धिक गुरुकुलसँग समन्वय गरेर त्यहाँका वटुकबाट आरती गराइने छ । उनीहरुलाई केही दिन तालिम समेत दिइने समितिले जनाएको छ । ‘बिहान नित्य पुजा हुन्छ, साँझ वटुकहरुबाट स्वस्ती वाचन गराएर आरती शुरु गर्छाै,’ समिति अध्यक्ष मास्केले भने । करिव आधा घण्टा आरती संचालन हुने उनको भनाइ छ ।
आरती समिति, द्विजबन्धु सांस्कृतिक समाज, गोरक्ष धाम लगायत बिभिन्न संघसंस्था, सरकारी निकाय र ब्यक्तिहरुको सहयोगमा नियमित आरती सञ्चालन गर्ने समितिका सचिव अयोध्या जोशीले बताए । आरतीका लागि आवश्यक सामग्री गोरखा नगरपालिका–६ पँदेली निवासी नवीन कुमार श्रेष्ठले सहयोग स्वरुप उपलब्ध गराइसकेको उनले जानकारी दिए ।
आरतीका लागी लाग्ने खर्च समितिले व्यहोर्ने छ । मास्के अध्यक्ष रहेको समितिको सचिवमा अयोध्या जोशी र कोषाध्यक्षमा कमला श्रेष्ठ रहेका छन् । सदस्यहरुमा नविन कुमार श्रेष्ठ, दिपक बाबु श्रेष्ठ, श्याम बाबु श्रेष्ठ, चन्दन बाबु खत्री, बिशेश्वर श्रेष्ठ, बिष्णु मास्के, सविता श्रेष्ठ, किरण अर्याल र बिकास मरहट्टा रहेका छन् । सल्लाहकारमा मोहनलाल श्रेष्ठ, इन्दु सिंह र डा. राजुबाबु श्रेष्ठ छन् ।



































