१८ माघ, गोरखा । गोरखामा यतिखेर प्रमुख जिल्ला अधिकारी र सहायक दुवै छैनन् । विगत सात दिनदेखि जिल्ला प्रजिअ र सहायक प्रजिअविहिन छ ।
यसअघिका प्रजिअ शंकरहरि आचार्य सरुवा भएसँगै माघ १२ गते उनले जिल्ला छाडेका थिए । कपिलवस्तु पुगेर उनले कार्यभार समेत सम्हालिसकेका छन् । तर गोरखाले भने अझै प्रजिअ पाएको छैन । प्रजिअको रुपमा कसलाई पठाउने भन्ने निर्णय गृह मन्त्रालयले आजसम्म गर्न सकेको छैन ।
माघ ६ गते गृहले निकालेको सरुवा सूचिमा सिराहका प्रजिअ लालबाबु कवारी गोरखा आउने उल्लेख थियो । तर उनलाई गृहले मन्त्रालयमै तानेपछि गोरखा प्रजिअ विहिन बनेको हो । अहिले शाखा अधिकृत गणेश भट्टराईले निमित्त प्रजिअको जिम्मेवारी सम्हालिरहेका छन् ।
करिव एक साता जिल्ला प्रजिअ र सहायक प्रजिअविहिन बन्नु अनौठो भएको भट्टराई बताउछन् । उनी भन्छन्, ‘सरुवा भएपछि पुरानो जाने र नयाँ आउनेको ग्याप एक दिन भन्दा बढी हुन्थेन, तर अहिले पुरानो गएको ६ दिन भइसक्दा पनि नयाँ आउनुभएको छैन ।’
मुद्धा फैसला र आर्थिक कारोवारको अधिकार प्रजिअलाई मात्र रहने व्यवस्था रहेको उनले जानकारी दिए । भने, ‘कसैलाई भुक्तानी दिनुप¥यो, मुआब्जाको निर्धारण गर्नप¥यो र मुद्धा फैसला गर्नप¥यो भने सिडिओ नै चाहिन्छ, अहिले ती कामहरु प्रभावित छन् ।’ प्रशासनको अन्य काम भने नरोकिएको उनले बताए ।
यता सहायक प्रजिअको रुपमा गोरखा सरुवा भएका पुष्कर राना पनि सोमवारसम्म जिल्लामा हाजिर भएका छैनन् । यसअघिका सहायक प्रजिअ चित्राङ्गत बराल पर्वतको सिडिओ भएर माघ ११ गते गोरखाबाट गइसके । तर उनको ठाउँमा सरुवा भएका राना भने अझै जिल्ला आएका छैनन् ।



































