२० माघ, गोरखा । गोरखालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागी स्वास्थ्य कार्यालयले पालिका स्तरमा अभिमुखिकरण कार्यक्रमलाई तिव्रता दिएको छ । हालसम्म सात वटा पालिकामा कार्यक्रम संचालन भइसकेको कार्यालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले बताए ।
उनका अनुसार पालुङटार नगरपालिका, आरुघाट, बारपाक सुलिकोट, अजिरकोट, धार्चे, चुमनुव्री र गण्डकी गाउँपालिकामा कार्यक्रम संचालन भइसकेको छ । गोरखा नगरपालिका, शहिद लखन, भीमसेन र सिरानचोक गाउँपालिकामा भने कार्यक्रम संचालन हुन बाँकी छ ।
जन्मेको १५ महिनाभित्रका बालबालिकाले नियमित लगाउनुपर्ने खोप १३ प्रकारका हुन्छन् । यो उमेर समूहका सबै बालबालिकाले यी सबै खोप लगाएको पाइएमा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न मिल्छ । गोरखा यसअघि नै पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेको छ । घोषणा भएको प्रत्येक बर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चिचता तथा दिगोपना घोषणा गर्नुपर्छ । त्यसका लागी सो उमेर समूहका बालबालिका खोप लगाउन छुटे नछुटेको वडा तहदेखि सुलभ सर्वेक्षण हुन्छ ।
‘१६ देखि २२ महिना पुगेका बालबालिकाले १५ महिनासम्म सबै खोप लिए नलिएको सर्वेक्षण गर्छाै,’ जनस्वास्थ्य निरिक्षक दानीले भने, ‘कुनै खोप छुटेको रहेछ भने लगाइदिन्छौ, त्यसैका लागी अहिले पालिकाहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गरेका हौ ।’ कार्यक्रम संचालन पश्चात छुटेका बालबालिकाको पहिचान गरी खोप लगाइने उनले जानकारी दिए । चैत्र र बैशाख महिनामा खोज र खोप अभियान संचालन हुने उनको भनाइ छ ।
वडा स्तरदेखि संचालन हुने यो अभियान पालिका हुदै जिल्लासम्म आइपुग्ने उनले बताए । सबै पालिका पूर्ण खोप सुनिश्चिचता तथा दिगोपना घोषणा भएसँगै जिल्लालाई घोषणा गरिने बताइएको छ ।



































