२१ माघ, गोरखा । भर्चुअल माध्यमबाट हुने सिकाइलाई सहज बनाउने उदेश्यका साथ गोरखाका सामुदायिक बिद्यालयहरुलाई ‘सिकाई बक्स’ वितरण गरिएको छ । ‘लुमा बक्स’ नाम दिइएको उक्त उपकरणमा कक्षा १ देखि १२ सम्मका सबै पाठ्यपुस्तक समावेश गरिएको शैक्षिक स्रोत तथा बिकास केन्द्रले जनाएको छ ।
‘सरकारले लागू गरेको पाठ्यक्रम अन्तरगत कक्षा १ देखि १२ सम्मका सबै पाठ्यपुस्तकहरु यसमा समावेश गरेका छौ,’ केन्द्रका कार्यकारी निर्देशक भीम प्रसाद पोखरेलले भने, ‘पाठ्यपुस्तकसँग सम्बन्धित अफलाइन सन्दर्भ सामाग्रीहरु पनि छन् ।’ श्रव्यदृव्य मार्फत विना इन्टरनेट यी सामग्रीहरु हेर्न मिल्ने उनले बताए । पाठ्यपुस्तक अभाव हुने बिद्यालयमा यो बक्स थप प्रभावकारी हुने उनको भनाइ छ ।
शनिवार एक कार्यक्रमका बिच सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई ‘सिकाई बक्स’ वितरण गरिएको छ । गोरखाका कुल ११ वटा बिद्यालयलाई बक्स वितरण गरिएको हो । बक्स पाउनेमा ज्ञानज्योती मावि, चतुरमाला मावि, जनता मावि, अमरज्योती मावि, जिवनज्योती मावि, अकला मावि, सरस्वती मावि, मण्डली मावि, परोपकार आर्दश मावि, महेन्द्रलिला मावि र जनज्योती मावि रहेका छन् ।
लम्जुङ, पोखरा, तनहूँ, पर्वत र वाग्लुङमा समेत उक्त बक्स वितरण गरिएको पोखरेलले जानकारी दिए । सम्बन्धित बिद्यालयका प्रधानाध्यापक एवं शिक्षकलाई बक्स संचालन सम्बन्धि तालिम पनि दिइएको छ । ‘पाइलट प्रोजेक्टको रुपमा अहिले १ सय वटा बक्स वितरण गर्न लागेका हौ, यसको प्रभावकारीता देखियो भने थप्दै लानेछौ,’ उनले भने ।
रोटरी क्यालिफोर्नियाको आर्थिक सहयोग एवं रोटरी क्लब अफ पोखरा र शैक्षिक स्रोत तथा बिकास केन्द्रको समन्वयमा सिकाई बक्स वितरण गरिएको हो । एउटा बक्सको मूल्य करिव एक लाख २५ हजार पर्ने बताइएको छ । शिक्षा मन्त्रालयसँग भएको सम्झौता अनुरुप बक्स वितरण गरिएको केन्द्रले जनाएको छ ।
शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पाठ्यक्रम बिकास केन्द्रका निर्देशक बैकुण्ठ प्रसाद अर्याल लगायतले मन्तव्य राखेका थिए ।



































