२ फागुन, गोरखा । गोरखाको लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ । जनयुद्धको सन्दर्भलाई जोड्दै दवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले मंगलवार बिहान उनीमाथि हातपात गरेका हुन् ।
इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेवल समेत तोडफोड गरेका छन् । ‘म एउटा द्धन्द्ध पीडित, मैले सामाजिक संजालमा क्याम्पस प्रमुखको हिसावले भन्दापनि आफ्नो नीजि बिचार राखेको थिए,’ दुवाडीले भने, ‘त्यही बिषयलाई लिएर उनीहरुले म माथि आक्रमण गरे ।’ इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवा भने क्याम्पसका बिद्यार्थी नभएको उनले जानकारी दिए ।
दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको बिरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमवार राती बिज्ञप्ती समेत जारी गरेको थियो ।
दुवाडीले कथित जनयुद्ध शब्दलाई बैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद भन्ने अभिव्यक्ति दिएको भन्दै १२ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्न माग गरेका उनीहरुले मंगलवार क्याम्पस प्रमुखकै कार्यकक्षमा प्रमुखमाथि हातपात गरेका हु्न् ।



































