५ फागुन, गोरखा । क्याम्पस प्रमुखमाथि कुटपिट गर्नेलाई कारवाही नगरेको भन्दै स्वतन्त्र बिद्यार्थी युनियनले द्रव्यशाह बहुमुखी क्याम्पसमा ताला लगाएको छ । दोषी उपर कारवाहीको माग गर्दै उजुरी दिएपनि प्रहरी संगठन र प्रशासनले बिभिन्न वहानावाजिमा घटनालाई राजनीतिकरण गरी आन्तरिक मेलमिलापको चेष्टा गरेको भन्दै शुक्रवार क्याम्पसमा ताला लगाइएको हो ।
शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै स्ववियूले दोषीलाई कानूनी दायरामा नल्याएसम्म क्याम्पसको पठनपाठन एवं प्रशासनिक कामकाज बन्द रहने जनाएको छ । ‘अपराधिक मानसिकताका व्यक्तिहरु दिनदहाडै बजारमा खुलेआम रुपमा हिडिरहेको र घटनामा आरोपित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनका लागी प्रहरीमा उजुरी गर्दा पनि झनै उक्त घटनालाई बिभिन्न वहानावाजिमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेको प्रति स्ववियू घोर भत्र्सना गर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।
स्थानीय प्रशासन समेत मौन रहनुले प्रहरी संगठन र प्रशासन प्रति जनताको बिश्वास गुमेको भन्दै घटनाका दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन स्ववियूले माग गरेको छ । दोषी उपर कारवाही नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।
जनयुद्धको बिरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति पोष्ट गरेको भन्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि फागुन २ गते उनकै कार्यकक्षमा कुटपिट भएको थियो । माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले उनीमाथि कुटपिट गरेका हुन् । इकाइ अध्यक्ष अनिस अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षको टेवल समेत तोडफोड गरेका थिए ।
घटनामा गोरखा नगरपालिकाका मेयरका स्वकिय सचिव समेत रहेका अर्याल, जिल्ला समन्वय समिति प्रमुखका स्वकीय सचिव राजन आले मगर, अनेरास्ववियू (क्रान्तिकारी) गोरखाका अध्यक्ष बिष्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङ लगायत अन्य युवाहरुको संलग्नता रहेको भन्दै उजुरी परेको छ ।



































