८ फागुन, गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पस प्रमुख कुटपिटको घटनामा सहमित जुटेको छ । कुटिपट र तोडफोडमा संलग्न अनेरास्ववियू (क्रान्तिकारी) बिद्यार्थीहरुले गल्ती स्वीकार गर्दै माफी मागेपछि आइतवार दुई पक्षबिच सहमति भएको हो ।
जनयुद्धको बिरोध गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति पोष्ट गरेको भन्दै माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीले क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात गरेका थिए । इकाइ अध्यक्ष अनिस अर्याल नेतृत्वमा आएको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षको टेवल समेत तोडफोड गरेका थिए ।
घटनामा गोरखा नगरपालिकाका मेयरका स्वकिय सचिव समेत रहेका अर्याल, जिल्ला समन्वय समिति प्रमुखका स्वकीय सचिव राजन आले मगर, अनेरास्ववियू (क्रान्तिकारी) गोरखाका अध्यक्ष बिष्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङ लगायत अन्य युवाहरुको संलग्नता रहेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आइतवार दुई पक्षबिच छलफल गराएको हो । आफ्नो गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता घटना दोहो¥याए कानूनी कारवाही भोग्न तयार रहने लिखित प्रतिवद्धता गरेपछि सहमति जुटेको एसपी अनुपम श्रेष्ठले बताए । सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको बिषयमा क्याम्पस प्रमुखले आत्मालोचना गर्ने र बन्द रहदै आएको क्याम्पसको पठनपाठन सोमवारबाट सुचारु गर्ने सहमति समेत भएको उनले जानकारी दिए ।
दोषीलाई कारवाहीको माग गर्दै स्वतन्त्र बिद्यार्थी यूनियनले क्याम्पसमा तालावन्दी गर्दै आएको थियो । कुटपिटमा संलग्नलाई संरक्षण गर्न केन्द्रिय स्तरका नेतासम्मको दवाव आएको थियो ।



































