९ फागुन, गोरखा । लघुवित्तको ऋण चक्रमा परेकाहरु अहिले संस्था बिरुद्ध आन्दोलित छन् । संस्थाद्धारा चर्काे व्याज असुल्ने, आफूहरुमाथि दुव्र्यवहार गर्ने र घरमा भएको पुशचौपाय र भाडाकुडा समेत उठाएर लैजाने गरेको उनीहरुको आरोप छ ।
यता जिल्लाका लघुवित्तीय संस्थाहरुले भने ऋणीहरुमाथि कुनै किसिमको दुव्र्यवहार नभएको बताएका छन् । मंगलवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनीहरुले खराव ऋणीहरुबाट संस्थाबारे नकरात्मक भ्रम फैलाउने काम भएको अभिव्यक्ति दिए ।
‘हामीले दिएको ऋणको उहाँहरुले सहीसदुपयोग गर्न सक्नुभएन,’ साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले भने, ‘सदुपयोग नभएपछि ऋण तिर्न गाह्रो भयो, अनि हामीले कर्जा माग्दा हाम्रै बारेमा नकरात्मक भ्रमहरु फैलाउन थाल्नुभयो ।’ कर्जा उठाउनका लागी गएका आफ्ना कर्मचारीमाथि ऋणीहरुले कुटपिट समेत गर्ने गरेको उनले बताए ।
डिप्रोस लघुवित्त वित्तीय संस्थाका निलराज ढकालले नयाँ ऋणीहरुभन्दा पुराना ऋणीहरुले संस्थालाई बदनाम गर्न लागी परेको गुनासो गरे । ‘पुराना ऋणीहरुले कर्जा तिर्नु भएन अनि संस्थाको बिरोधमा अफवाह फैलाउन थाल्नुभयो,’ उनले भने ।
अहिले देखिएको समस्या समाधानका लागी वित्तीय साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिदै तालिमहरु पनि संचालन गर्ने साधना लघुवित्तकी सरिता ढकालले बताइन् । नेपाल लघुवित्त बैकर्स संघको आयोजना र साधाना लघुवित्त वित्तीय संस्थाको समन्वयमा मंगलवार सदरमुकाममा वित्तीय साक्षरता कार्यक्रम भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा नेपाल राष्ट्र बैकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा लघुवित्त बैकर्स संघका सचिव केशव पौडेल, ग्रामिण लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटवाल, नेपाल राष्ट्र बैक गण्डकी प्रदेश पोखराका उपनिर्देशक नविना ढकाल लगायतले सहजिकरण गरेका थिए । कार्यक्रममा जिल्ला स्थित १३ वटा वित्तीय संस्थाका करिव चार सय सदस्यहरुको उपस्थिती रहेको थियो ।



































